काठमाडाैं- विराटनगर जुटमिलका सञ्चालकहरूले उद्योगभित्रका पित्तल र तामाका पार्टपुर्जा, ठूला मेसिन राखिएका अग्राखका काठ मात्र होइन, मजदुर क्वार्टरका पलङसमेत बेचिदिएका छन् ।
सञ्चालक समितिका तत्कालीन अध्यक्ष नीलहरि काफ्लेको नेतृत्वमा उद्योगको सम्पत्ति कौडीको भाउमा बेचिएको भन्दै पूर्वकर्मचारीहरूको संघर्ष समितिले उजुरी गरेको थियो ।
सो उजुरीका आधारमा उद्योग मन्त्रालयले गठन गरेको छानबिन समितिले पनि अनियमितता भएको ठहर गरेको छ । मिलको समग्र अनियमितता छानबिन गर्न मन्त्रिपरिषद्ले उच्च अदालत विराटनगरका न्यायाधीशको नेतृत्वमा न्यायिक समिति पनि गठन गरेको छ ।
पाँच करोड पर्ने सखुवाको काठ दाउराको भाउमा पाँच लाखमा बेचिएको थियो ।
मिल परिसरमा ठूला मेसिन र जुट राख्न भुइँमा सखुवाको काठ बिछ्याइएको थियो । बिम बनाएर ओछ्याइएको काठलाई सञ्चालक समितिका तत्कालीन अध्यक्ष काफ्लेले अनियमित रूपमा बेचेको ठहर उद्योग मन्त्रालयले गठन गरेको छानविन समितिले गरेको खबर अाजकाे नयाँपत्रिका दैनिकमा अजित अधिकारी र गणेश लम्सालले लेखेका छन् ।