काठमाडौं- यताउति गरिरहेका मानिसले नेपाली बोलिरहेका छन्। नजिकै छन्, गोर्खा सहिदको स्मृतिमा बनेको स्मारक र राजारानी कोठी। यही क्षेत्रको एउटा ठूलो भवनमा लेखिएको छ, ‘नेपाल हाउस’।
यत्तिलाई मात्र आधार बनाउनुभयो भने तपाईंले यो नेपालकै कुनै एउटा ठाउँ हो भन्न सक्नुहुन्छ । नझुक्किनुस्, यो भारतको झारखण्ड राज्य हो।
प्रदेशका मुख्य मन्त्रालयहरू रहेको भवनलाई यहाँ ‘झारखण्ड मन्त्रालय, नेपाल हाउस’ को नाउँ दिइएको छ। यो खबर आजको कान्तिपुरमा विप्लव भट्टराईले लेखेका छन्।
विश्वका कुनाकाप्चामा नेपाली भेटिनु नौलो होइन । नेपालीको संख्या धेरै भएको क्षेत्रमा आफ्नो देशको पहिचान दिलाउन उनीहरूले ‘नेपाल हाउस’ बनाउने गरेका छन् । झारखण्डस्थित ‘नेपाल हाउस’ को विशेषता भने छुट्टै छ।
झारखण्डको राजधानी राँचीको मध्यभागमा निर्मित यो हाउसले सुशासन र समृद्धिको योजना बनाउने क्षेत्रको परिचय बनाएको छ। यो हाउस ऐतिहासिक छँदै छ, यसले नेपाली मूलका बासिन्दाको समृद्धि र सानलाई पनि प्रतिनिधित्व गरेको छ।
नेपाल हाउसको परिचय एउटा घरमा मात्र सीमित छैन। करिब ३ किलोमिटर क्षेत्रमा फैलिएको डोरन्डाको बीच भाग नै नेपाल हाउस नामले परिचित छ । डेढ सय वर्षअघिदेखि नै नेपालीहरूको बसोवास रहेको यो क्षेत्रमा २० हजारभन्दा बढी घर नेपालीका छन्।
‘जति पनि ठूला र व्यवस्थित घर देखिन्छन्, ती सबै नेपालीका हुन्,’ स्कुटरमा भेटिएका शिवकुमार लिम्बूले भने, ‘प्रहरीदेखि विभिन्न सरकारी कार्यालय र व्यापार व्यवसायमा पनि नेपालीको पहुँच लोभलाग्दो छ ।’ डोरन्डासहित राँचीका विभिन्न क्षेत्रमा १ लाखको हाराहारीमा नेपाली मूलका बासिन्दा छन् ।
सन् १८८० मा तत्कालीन भारत सरकारले २ सय २२ नेपाली युवालाई सामूहिक रूपमा प्रहरीमा भर्ती गराएको थियो । त्यसपछि यो क्रम जारी छ । भीआईपीदेखि महत्त्वपूर्ण कार्यालयको सुरक्षा नेपालीलाई दिइयो । यही कारण पनि राँची सहरको मुख्य भागमा नेपाली भाषीको पकड बढ्दै गएको लिम्बू बताउँछन् ।
राणाशासन र शाह परिवारको इतिहास जोडिएको यो स्थानलाई भारत सरकारले सदीयौंदेखि नेपाल हाउसको सम्मान दिएको हो।