काठमाडौं- स्थानीय बजारमा सुनको मूल्यले दिनदिनै नयाँ रेकर्ड कायम गरिरहेको छ।
मंगलबार पनि सुनको मूल्यले नयाँ उचाई कायम गर्दै प्रतितोला ६८ हजार रुपैयाँमा कारोबार भएको छ।
अन्तर्राष्ट्रिय बजारमा लगातार मूल्य बढेपछि त्यसको प्रत्यक्ष प्रभाव स्थानीय बजारमा पर्न गएको हो । पछिल्लो पाँच दिनयता सुनको मूल्य लगातार उकालो लाग्दै आएको खबर आजको कारोबार दैनिकमा लक्ष्मी सापकोटाले लेखेकी छन्।
सोमबार प्रतितोला ६७ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार तोलामा २ सय रुपैयाँ बढेर प्रतितोला ६८ हजार पुगेको हो। पाँच दिनदेखि बढिरहेको सुनको मूल्यले मंगलबार पनि नयाँ रेकर्ड कायम गरेको छ।
मंगलबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँ बढेर ६८ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
महासंघका अनुसार पछिल्लो पाँच दिनमा सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँ रुपैयाँ वृद्धि भएको छ । गत बिहीबार प्रतितोला ६५ हजार रहेको सुनको मूल्य मंगलबारसम्म तोलामा तीन हजार रुपैयाँले बढेर प्रतितोला ६८ हजार रुपैयाँमा पुगेको हो।
अन्तर्राष्ट्रिय बजारमा लगातार सुन बढेकाले मंगलबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेर तोलामा ६८ हजार रुपैयाँ पुगेको सुनचाँदी व्यवसायी तेजरत्न शाक्य बताउँछन्।
लगातार सुनको मूल्य बढेसँगै स्थानीय बजारमा कारोबार ठप्प भएको उनको भनाइ छ । सोमबार मात्रै सुनको मूल्य तोलाकै १ हजार ५ सय रुपैयाँले बढेको थियो ।
अमेरिका र चीनबीचको व्यापार युद्धसँगै अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर कटौंती गरेपछि सुनको मूल्य उकालो लागेको हो । ब्याजदर घटेपछि लगानीकर्ता सुनतर्फ आकर्षित भएका कारण मूल्य बढेको हो।
सुनको मूल्य बढेसँगै स्थानीय बजारमा सुनको कारोबार अत्यन्त न्यून रहेको छ । लगातार मूल्य बढेपछि बजारमा सुनको बिक्री हुन छोडेपछि व्यवसायीसँग सुन थुप्रिएको छ । गत १० असार देखि सुनको मूल्य बढ्न थालेको हो।
विभिन्न वाणिज्य बैंकसँग ३४ किलो सुन मौज्दात रहेको छ । अमेरिकी केन्द्रीय बैंकले ०.३ प्रतिशतले ब्याजदर घटाए पछिको असर सुनको मूल्यमा परेको हो।
विश्व राजनीतिमा देखिएको असमझदारी कायम रहेसम्म सुनको बजार प्रभावित भइरहन सक्ने व्यवसायीको भनाई छ । मूल्य आकासिएपछि आफूसँग भएको सुन बिक्री गर्ने ग्राहक बढेका छन् भने नयाँ सुन किन्न आउने ग्राहक नै नभएको व्यवसायीहरूको भनाइ छ।
व्यवसायीका अनुसार चीन र अमेरिकाको व्यापार युद्धले सुन बजार प्रभावित भएको छ । इरान र अमेरिकाबीच भएको तनावले पनि लगानीकर्ताहरू सुरक्षित स्थान खोज्न थालेका छन्।