गोरखा- ०७२ साल वैशाख १२ गते गएको भूकम्पले तहस नहस बनाएको गाउँ हो- वलाङ । अजिरकाेट गाउँपालिका वडा न २ खरिबाेट (साबिकको खरिबाेट गाउँपालिका-३) वलाङ गाउँ यस्तो गाउँ हो जहाँ गुरुङ र घलेहरूको मात्र बसोबास छ ।
अहिले यो गाउँ चर्चामा छ । किनकि हाइड्रोपावरको काम गर्दै आएको रिजन कम्पनीले ९ मेगावाट क्षमताको ‘सुपर चेपे’ आयोजनाको निर्माण प्रक्रिया अगि बढाएको छ ।
वलाङ भन्दा माथिको सामुदायिक वन हुँदै पाइपको माध्यमबाट पानी ल्याएर साबिकको लिगलगखाेला जलविद्युत आयोजनाको पावर हाउस हुँदै गोरखा र लमजुङको सिमानाको घट्टखाेलामा पावर हाउस निर्माण हुने आयोजनाका कारण वलाङका करिब ८५ घर प्रभावित हुने भएका छन् ।
विना मापदण्ड मुआब्जा
आयोजनाले विना मापदण्ड मुआब्जा तोकेको छ । स्रोतका अनुसार आयोजनाले वडा न २ का खरिवाेटका वडा भिमलाल तामाङ र स्थानीय हाइड्रो पावरमा कार्यरत यमनाथ भट्टको टोलीले मुआब्जा दिनका लागि निर्माण भएको समितिलाई व्यवस्था गर्दै मुआब्जा दिने निर्णय गरेका छन् ।
उनीहरूले मुआब्जाका लागि ६ सय देखि १५ सयसम्मको हचुवाको आधारमा मुआब्जा निर्धारण गरेको स्थानीयले आरोप लगाएका छन् ।
‘पिपिए अर्थात् पावर पर्चेजिङ एग्रीमेन्ट गरिसकेको आयोजनाले यस अघि मुआब्जा दिनका लागि समिति बनेको भए पनि समितिलाई बेवास्ता गरी बिना मापदण्ड जग्गाको मुआब्जा हचुवाको आधारमा दिने गरेको छ ‘स्रोत भन्छन्’ यसरी त न हाम्रो वस्ति नै सुरक्षित भयो । न त मुआब्जा नै उचित भयो ।’
भट्ट र वडा अध्यक्ष तामाङको टोलीले सर्वेक्षणको लागि जिम्मेवार बनेको कारण नै स्थानीय जनताले जग्गाको सही मुआब्जा पाउन नसकेको गुनासो स्थानीयले गर्ने गरेका छन् ।
वडाध्यक्ष भन्छन्- पाखाको मुआब्जा उचित छ
वडाध्यक्ष तामाङ भने पाखा जग्गाको सरकारी मूल्याङ्कन ३५ हजार प्रति रोपनी भएको भन्दै मुआब्जा उचित रहेको दाबी गर्छन् । भन्छन् ‘ती पाखाको मुआब्जा उचित छ । यहाँभन्दा धेरै पाउँदैनौ´ ।
सरोकारवाला कसैलाई पनि पत्तो नदिएको भन्दै स्थानीयले विरोध गरे पनि तामाङ भने पाखा जग्गाको मुआब्जा उचित भएको दाबी गर्छन् । भन्छन् ‘ यो पाखा जग्गाको मुआब्जा उचित नै छ । सरकारी रेट अनुसार नै मुआब्जा निर्धारण भएको छ । जो कोही आए पनि उचित नै छ मुआब्जा रेट । ‘
आयोजनाको लागत एक अर्ब ६५ करोड
आयोजनाको लागत एक अर्ब ६५ करोड रुपैयाँ अनुमान गरिएको छ । ३० प्रतिशत स्वपुँजी रहनेछ भने ७० प्रतिशत बैङ्क तथा वित्तीय संस्थाबाट ऋण लिने योजना रहेको आयाेाजनाले जनाएको छ ।
आयोजना दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । जलविद्युत् लमजुङ र गोरखाको सिमाना अजिरकोट र दुधपोखरी गाउँपालिकामा बन्नेछ । उत्पादित विद्युत् वर्षमायाका ६ महिना प्रतियुनिट ८ रुपैयाँ ४० पैसा र हिउँदका ६ महिना ४ रुपैयाँ ८० पैसामा प्राधिकरणले खरिद गर्ने सम्झौता भएको हो ।