काठमाडौं- राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदान सम्झौता गरेका तर बैंकमा आफ्नो खाता सुचारु नगरेकोका लाभग्राहीलाई यथाशीघ्र तोकिएको बैंकमा सम्पर्क राखी आफ्नो खाता सुचारु गर्न अनुरोध गरेको छ ।
अनुदान सम्झौता गरेलगत्तै पहिलो किस्ता बैंक खातामा गएको तर खाता सक्रिय नगरेका कारण ठूलो संख्याका लाभग्राहीको पैसा निस्कृय भएपछि यस्तो आग्रह गरिएको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले बताए ।
सहप्रवक्ता घिमिरेले आफ्नो खाता सक्रिय गरी खातामा जम्मा भएको रकम निकालेर निजी आवास पुनर्निर्माण सुरु गर्न पनि सम्बन्धित सबै लाभग्राहीलाई आग्रह गरे ।
समयमै खाता सक्रिय नगर्नेहरुको हकमा प्राधिकरणले खाता निस्क्रिय तुल्याउने पनि उनले जानकारी दिए ।
आइतबार अपरान्हसम्मको तथ्यांकअनुसार पहिलो किस्ता लिएका ७ लाख ६७ हजार ६०८ लाभग्राहीमध्ये ६ लाख २ हजार ४४३ ले घर निर्माण सुरु गरेर दोस्रो किस्ता लिएका छन् ।