गोरखा- धार्चे गाउँपालिका-५ गुम्दामा आलुमेला सुरु भएकाे छ । स्थानिय स्तरमा उत्पादित आलुको बजारीकरण तथा प्रबद्र्धनका लागि आलु मेला सुरु भएको हाे ।
थामरा धार्चे युवा क्लब र आलु उत्पादक कृषक समुहको संयुक्त आयोजनामा आइतबारबाट सुरु भएको मेलाको सोमबार औपचारिक रुपमा उद्घाटन गरिएको हो । गण्डकी प्रदेशका भुमी ब्यबस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा मगरले मेलाको उद्घाटन गर्दै सो क्षेत्रलाई आलु जोनका रुपमा विकास गर्न सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
महोत्सवमा स्थानीयहरुले आलु लगायतका स्थानीय स्तरमै उत्पादन हुने खाद्यन्न सँगै, भेडाको उनबाट बुन्ने बख्खु, डोको, नाम्लो भकारी लगायतका चिजविजहरुको बिक्री समेत गरेका छन्। मेलामा आलुको मूल्य प्रति पाथी एकसय ५० रुपैयाँ तोकिएको छ।
मेला अवलोकन गर्न धार्चे गाउँपालिका सँगै सुलीकोट, शहिद लखन गाउँपालिका, आरुघाट गाउँपालिका, चुमनुब्री गाउँपालिकाबाट उल्लेख्य संख्यामा मानिसहरु आएका छन् ।
गाउँको मुख्य बाली आलुको बजारीकरणका लागि मेला आयोजना गरिएको वडा अध्यक्ष तुलबहादुर गुरुङले बताए । गुम्दामा बाह्रैमास आलु खेति हुन्छ । चिसो ठाउँ भएकाले यहाँको आलु स्वादिलो पनि मानिन्छ । आलु उत्पादन बढाएर बजारीकरण गर्न सके आर्थिक रुपमा पनि गाउँलेलाई फाईदा पुग्ने भएकाले मेला मार्फत आलुको बजारीकरण खोजेको अध्यक्ष गुरुङले बताए ।
‘यहाँको मुख्य खेती नै आलु हो’ उनले भने ‘यहाँ आलु धेरै भएर कुहिएर जान्छ। कोही वस्तु भाउलाई खुवाउँछ। त्यसो हुन नदिन र प्रचार प्रसार गर्न नै महोत्सव आयोजना गरिएको हो।’
गुम्दा आसपासको क्षेत्रमा कति आलु उत्पादन हुन्छ भन्ने सरकारी तथ्याङ्क नभएपनि त्यहाँको मुख्य बाली नै आलु हो। गुम्दामा चार थरीका आलु पाइने वडा अध्यक्ष गुरुङले बताए। त्यहाँ सेतो, कालो, रातो र लाम्चो खालको आलु पाइन्छ।
थामरा धार्चे युवा क्लबका अध्यक्ष धनप्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशका भुमीब्यबस्था कृषि तथा सहकारी मन्त्री थापा मगर, पुर्व राज्यमन्त्री छमबहादुर गुरुङ , धार्चे गाउँपालिकाका नेकपा इन्चार्ज लक्ष्मण गुरुङ, स्वाँरा सघन गाउँ विकास केन्द्रका सिताराम श्रेष्ठ, केयर नेपालका माधव ढकाल, क्लबका माइला गुरुङ लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।