काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कूटनीतिक मर्यादा नाघेर भारतीय विदेशमन्त्री सुव्रमण्यम जयशंकरसँग एकान्त वार्ता गरेका छन्।
ओली–जयशंकर वार्ताले दुई देशबीचको परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक दुई घन्टा पछि धकेलिएको थियो ।
अपराह्न ३ बजेलाई तय भएको आयोगको बैठक ५ बजे मात्रै सुरु भएको थियो । यो खबर आजको नयाँ पत्रिका दैनिकमा पर्शुराम काफ्लेले लेखेका छन्।
प्रधानमन्त्री ओलीसँगको वार्ता पूर्वनिर्धारित नरहेको संकेत विदेशमन्त्री जयशंकरले ट्विटरमा दिएका छन् । व्यस्तताबीच प्रधानमन्त्री ओलीले समय दिएकोमा आफूलाई सन्तोष लागेको जनाएका छन् ।
‘प्रधानमन्त्री केपी शर्मा ओलीसँग न्यानो र विस्तृत छलफल भयो । अत्यन्त व्यस्तताबीच र पूर्वनिर्धारित व्यस्तताबीच मलाई स्वागत गर्नुभएकोमा प्रशंसा गर्छु,’ जयशंकरले ट्विट गरेका छन् ।
विगतमा संयुक्त आयोगको बैठक सम्पन्न भएपछि मात्रै विदेशमन्त्रीहरूले प्रधानमन्त्रीसँग शिष्टाचार भेटवार्ता गर्ने चलन थियो । पाँच वर्षअघि भएको आयोगको तेस्रो बैठक सकिएपछि भारतीय विदेशमन्त्री सुष्मा स्वराजले तत्कालीन प्रधानमन्त्री सुशील कोइरालासँग शिष्टाचार भेट गरेकी थिइन्।
प्रधानमन्त्रीसँग एकान्त वार्ता गरेपछि मात्रै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र समकक्षी जयशंकरबीच भेटवार्ता भयो । संयुक्त आयोगको बैठकअघि ज्ञवाली र जयशंकरबीच होटेल याक एन्ड यतीमा करिब १५ मिनेट भेटवार्ता भएको हो।
प्रधानमन्त्री ओलीसँगै दुई देशबीचका सबै विषयमा छलफल भएका कारण परराष्ट्रमन्त्रीद्वयबीचको भेटवार्ता सामान्य शिष्टाचारमा सीमित रहेको कूटनीतिक स्रोतले बताएको छ।