गोरखा- जिल्लामा सुन्तला प्रशोधन उद्योग र कोल्ड स्टोर बनाईने भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाईले चालु आर्थिक बर्ष जिल्लामा सुन्तला प्रशोधन उद्योग र कोल्ड स्टोर बनाउने भएको हो ।
इकाईको चालु आर्थिक बर्षका कार्यक्रम सार्वजनिकीकरण गर्दै कार्यालय प्रमुख अजय अधिकारीले कृषक समुह र सहकारीको मागका आधारमा प्रशोधन उद्योग र कोल्ड स्टोर बनाउने स्थानको तय गर्ने जानकारी दिए ।
३५/४० टन सुन्तला अट्ने प्रिफ्याबको कोल्ड स्टोर बनाउनका लागि ५० लाख रुपैयाँ प्राप्त भएको कार्यालय प्रमुख अधिकारीले बताए । सुन्तलाको जुस, सर्वत बनाउने प्रशोधन उद्योग बनाउनका लागि २५ लाख रुपैयाँ बजेट स्वीकृत भएको इकाईले जनाएको छ ।
इकाई मार्फत यो बर्ष सुन्तला ह्रास ब्यबस्थापन, बगैचा सुदृढिकरण, नर्सरी स्क्रिन हाउस निर्माण लगायतका कार्यक्रम पनि कार्यान्वयन हुने भएका छन् ।
जिल्लाको शहिद लखन गाउँपालिका, गण्डकी गाउँपालिका, भिमसेन थापा गाउँपालिका, गोरखा नगरपालिका र पालुङटार नगरपालिकाको सुन्तला पकेट क्षेत्र समेटेर ५१२ हेक्टर क्षेत्रफलमा सुन्तला जोन कार्यक्रम लागु भएको छ ।
सुन्तला जोन कार्यक्रम सञ्चालनका लागि चालु आर्थिक बर्ष दुई करोड ६५ लाख ८० हजार रुपैयाँ बजेट स्वीकृत भएको कार्यक्रममा जानकारी दिईएको छ । यसैबिच, गोरखामा यसै बर्षदेखि धान जोन कार्यक्रम पनि सुरु भएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत गोरखा र पालुङटार नगरपालिका सहित सिरानचोक र शहिदलखन गाउँपालिकाको विभिन्न क्षेत्र समेटर कार्यक्रम कार्यान्वयन हुने भएको हो ।
धान जोन कार्यक्रम कार्यान्वयनका लागि एक करोड ३० लाख ६४ हजार रुपैयाँ बजेट प्राप्त भएको कार्यालय प्रमुख अधिकारीले बताउनु भयो ।
यस कार्यक्रम अन्तरगत बाली संरक्षण, आधुनिक कृषि सामग्रीको प्रयोग, माटो सुधार, लाभ लागत अध्ययन, उन्नत प्रविधिको प्रयोग, औजार उपकरण वितरण, सौर्य ऊर्जामा आधारित सिँचाइ प्रणालीको विकास लगायतका कार्यक्रम गरिने भएको छ ।
त्यसैगरी, साना सिञ्चाई कार्यक्रम अन्तर्गत ४० वटा साना सिञ्चाइ आयोजना निर्माण गरिनेछ । तथ्यांक अनुसार जिल्लामा १२ हजार नौ सय २० हेक्टरमा धान खेती हुँदै आएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत नै सिरानचोक गाउँपालिकामा मकै विशेष कार्यक्रम पनि कार्यान्वयन हुने भएको छ ।
कार्यक्रमका लागि चालु आर्थिक बर्ष ५० लाख रुपैयाँ बजेट प्राप्त भएको कार्यालय प्रमुख अधिकारीले बताए ।
कार्यक्रम अन्तरगत मकौली उपज प्रशोधन उद्योग स्थापनाका लागि २० लाख रुपैयाँ, मकै सुकाउने त्रिपाल किसानलाई वितरणका लागि १० लाख रुपैयाँ र एकिकृत मकै खेतीमा सिञ्चाई, कृषि यन्त्र, प्रोत्साहन अनुदानका लागि २० लाख रुपैयाँ बजेट स्विकृत भएको इकाईले जनाएको छ ।