काठमाडौँ- पछिल्लो डेढ महीनादेखि निरन्तर उकालो लाग्दै आएको सुनको मूल्य स्थानीय बजारमा आज अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्यमा प्रतितोला रु एक हजारले वृद्धि भई प्रतितोला ७३ हजार ५०० कायम भएको छ ।
आइतबार छापावाला सुन प्रतितोला ७२ हजार ५०० मा कारोवार भएको थियो । आइतबार सुन प्रतितोला रु एक हजार २०० ले वृद्धि भएको थियो ।
यस्तै तेजाबी सुनको मूल्यमा पनि प्रतितोला एक हजारका दरले वृद्धि भएको छ । स्थानीय बजारमा तेजाबी सुनको मूल्य प्रतितोला ७३ हजार २०० पुगेको छ । आइतबार तेजाबी सुन प्रतितोला रु ७२ हजार २०० मा कारोवार भएको थियो ।
सुनसँगै चाँदीको मूल्यमा पनि बढेको छ । स्थानीय बजारमा चाँदीको मूल्य १० वृद्धि भई प्रतितोला ८६० पुगेको महासङ्घले जनाएको छ । आइतबार चाँदी प्रतितोला ८५० मा खरीदबिक्री भएको थियो ।
गत साउनको शुरुआतदेखि नै सुनको मूल्य उकालो लाग्न थालेको हो । साउन महीनामा सुनको मूल्य प्रतितोला रु सात हजार र चाँदीको मूल्य प्रतितोला ९५ ले वृद्धि भएको थियो ।
भदौ महिना लागेपछि पनि लगातार सुनको मूल्यमा उच्च वृद्धि भइरहेको छ । भदौमा छापावला र तेजाबी सुन प्रतितोला दुई हजार ५०० ले वृद्धि भएको छ ।
साउन १ गते छापावाला सुन प्रतितोला ६४ हजार ५००, तेजाबी सुन ६४ हजार २०० र चाँदी प्रतितोला ७४५ मा कारोबार भएको थियो । साउन ३१ र ३२ गते छापावाला सुन प्रतितोला ७१ हजार ५००, तेजाबी सुन ७१ हजार २०० तथा चाँदी प्रतितोला ८४० मा कारोबार भएको महासङ्घले जनाएको छ ।
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य निरन्तर बढिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस एक हजार ५३२.७५ अमेरिकी डलर पुगेको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा परेको हो । अमेरिकी डलरको दर बढेसँगै सुनको मूल्य पनि वृद्धि हुन थालेको हो ।
चीन–अमेरिका व्यापार टकराव, इरान–अमेरिका विवादले पनि सुनको भाउ बढाउन सहयोग गरेको बताइन्छ ।
सुनको मूल्य वृद्धि भएसँगै सुनको खपत भने ह्वात्तै घटेको छ ।
दैनिक २०/२५ किलो सुन खपत हुने नेपाली बजारमा पछिल्लो समय मुश्किलले १० किलो पनि बिक्री हुन नसकेको महसङ्घले जनाएको छ ।
अहिले सुन किन्नेभन्दा पनि गहना बेच्नेको घुइँचो लाग्ने गरेको छ ।