पोखरा- १९ वर्ष पहिला गाउँ नगर साझेदारी अन्तर्गत टोल र सामाजिक सेवा एवम् जीवनस्तर उकास्ने उद्देश्यले ३२ जना सदस्यबाट सुरु गरिएको पुरानोधारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा एक हजार ६०० रुपैयाँबाट सुरु शेयर पूँजी अहिले भने एक करोड ६८ लाख पुगेको छ ।
संस्थाको १२औं साधारण सभाका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष कृष्णप्रसाद कोइरालाले सुरुमा आदर्श टोल विकास संस्थाका रुपमा जनही ५० रुपैयाँ बचत सुरु गरिएकोमा ०६५ बैशाख २६ गतेदेखि पुरानोधारा बचत तथा ऋण सहकारी संस्था लि.का नाममा पोखरा महानगरका १०, ११, १२, १३ र १४ वडालाई कार्यक्षेत्रमा विस्तार भै काम गरिरहेको बताए ।
संस्थाको अधिकृत पूँजी दुई करोड ८१ लाख रुपैयाँ पुगेको जानकारी दिदै उनले चालु आर्थिक वर्षमा कम्तीमा ४० जना शेयरधनी थप गरी शेयरपूँजी दुई करोड आठ लाख रुपैयाँ पु¥याउने लक्ष्य राखिएको जानकारी दिए ।
सहकारीले सेवाको विस्तृतीकरण, निक्षेप संकलन बृद्धि, ऋण लगानीमा बृद्धि, प्रशिक्षण तथा अवलोकन भ्रमण, सम्मान लगायतका कार्यक्रमलाई अघि बढाइरहेको उनले जानकारी दिए ।
साधारण सभाको उद्घाटन समारोहमा जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रविरमण तिवारीले सानो पूँजीको संकलन तथा परिचालनका माध्यमबाट सहकारीहरूले समाजको आर्थिक गतिविधिमा महत्वपूर्णा योगदान गरेको बताए ।
रोजगारी सिर्जना, सामाजिक जागरणका साथै महिला सशक्तिकरणमा सहकारीका माध्यमबाट महत्वपूर्ण उपलब्धि हासिल भएको उनको भनाइ छ ।
पोखरा महानगरपालिका सहकारी समितिका सदस्य सचिव गंगालाल सुवेदीले महानगरपालिका अन्तर्गत तीन यस १७ सहकारी रहेको जानकारी दिदै आर्थिक अनुशासन, पारदर्शिता जस्ता विषयलाई ध्यान दिनुपर्ने बताए ।
कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट शेयर सदस्यहरू मध्ये धितो जमानीमा सुनिता कोइराला, धन जमानीमा माधवप्रसाद वास्तोला(मधु) र असल बचतकर्तामा रामेश्वर जिसीलाई सम्मान गरियो ।
त्यस्तै शेयर सदस्यका छोराछोरी मध्येबाट यस वर्ष एसइई उत्तीर्ण मयुख बराल र नम्रता पौडेललाई पनि सम्मान गरियो भने सहकारीको भ्रमणमा सबैभन्दा अनुशारिसत एवम् जिम्मेवार भूमिका निर्वाह गरेको भन्दै कृष्णप्रसाद कोइरालालाई सम्मान गरियो ।