काठमाडौं- नेकपा कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले विश्वभर नेपालको कस्तो छवि बनाउने भन्ने पर्यटन व्यवसायीको हातमा रहेको बताएका छन् ।
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को ४१ औं साधारणसभा तथा चुनावलाई सम्बोधन गर्दै प्रचण्डले नेपालीहरु बहादुर, इमान्दार र महेनती छन् भन्ने छवि रहेको बताए ।
तर यदाकदा विकृति देखिन थालेको भन्दै उनले भने, अतिथि देवो भवः मन्त्र त भन्छौं, तर कहिलेकाहीँ अतिथि दुहुने गाई हो भने जसरी भएभरको एकैपटक दुहुन खोज्ने घटनाहरु सुनिन आएका छन् ।’
व्यवसायका लागि राज्यले राम्रो वातावरण बनाइदिनुपर्छ भन्नेमा दुईमत नभएको उनले बताए । तर एकैपटक धेरै धन कमाउन खोज्दा दुर्घटनाबाहेक केही नहुने भन्दै सचेत गराए । ‘दिगो तरिकाले काम गर्नुस्,’ उनले भनेका छन् ।
नेपाल भ्रमण वर्षको सन्दर्भ उल्लेख गर्दै प्रचण्डले नेपाललाई सधैं भ्रमण वर्षको रुपमा रहिराख्ने वातावारण बनाउन समेत अपीले गरे ।
त्यसका लागि आवश्यक पर्ने वातावारण बनाउने राज्यका तर्फबाट गर्नुपर्ने धेरै कुरा बाँकी रहेको कुरामा ध्यानाकर्षण भएको बताए ।
नेकपा सचिवालय सदस्य तत्काल थप नहुने, धेरै लामो मेहनत र संघर्षपछि देशमा नयाँ राजनीतिक परिस्थिति बनाएको उल्लेख गर्दै प्रचण्डले देश अब आर्थिक समृद्धिको नयाँ युगतिर लैजानुपर्नेमा जोड दिए ।
‘आर्थिक लोकतन्त्रको युगतिर जानका लागि नीजि क्षेत्रलाई सहकार्य र विश्वासमा लिएर प्रोत्साहित लिएर राज्य अगाडि बढन सकेन भने समृद्धिको सपना सपनामात्रै हुन्छ ।’ उनले भने।
कार्यक्रममा पर्यटनमन्त्री योगेश भट्टराईले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको बदनाम हुने काम नगर्न आग्रह गरे । ‘पर्यटनमा रहेका समस्या घरभित्रै समाधान गरौं । नेपालको प्रतिष्ठामा आँच आउने गरी कुनै प्रचार नगरौं,’ उनले भनेका छन् ।
टानको यो चुनावी महाधिवेशन हो । शुक्रबार हुने निर्वाचनले नयाँ कार्यसमिति चयन गर्नेछ ।