काठमाडौं- बहुप्रतीक्षित अन्तरदेशीय पेट्रोलियन पाइपलाइन परियोजनाको आज नेपाल-भारतका प्रधानमन्त्रीले स्विच दबाएर उद्घाटन गरेका छन्।
भारतको मोतिहारीबाट बाराको अमलेखगन्जसम्म बिछ्याइएको पाइपलाइन परियोजनाको नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा आ-आफ्नो मुलुकबाट ‘स्विच’ थिचेर उद्घाटन गरे।
नेपालको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारबाट र भारतको तर्फबाट प्रधानमन्त्री नरेन्द्र मोदीले हैदरावादबाट ‘भिडियो कन्फ्ररेन्स’मार्फत एकैसाथ स्विच थिचेर परियोजनाको उद्घाटन गरेका हुन्।
उद्घाटनपछि अमलेखगन्जमा झरेको तेल इन्डियन आयल कर्पोरेसन (आइओसी) का प्रमुखले बोतलमा तेल थापी नेपाल आयल निगम प्रमुखलाई हस्तान्तरण गरेका थिए।
पहिलो चरणमा पाइपलाइनबाट डिजेल ल्याइनेछ। यसपछि क्रमशः पेट्रोल र मट्टितेल ल्याइनेछ। मोतिहारी–अमलेखगन्ज पाइपलाइनको दूरी ६९ दशमलव २ किलोमिटर रहेको छ। जसमा नेपालतर्फ २६ दशमलव २ र भारततर्फ ३३ दशमलव ६९ किलोमिटर रहेको छ।
यसअघि गत साउन ३ मा परीक्षणको रुपमा पहिलोपटक पाइपलाइनबाट नेपाल तेल आएको छ। पेट्रोलियम पाइपलाइन परियोजनाले परीक्षणका रुपमा भारतको पटनाबाट साउन १ मा पठाइएको डिजेल त्यसको २ दिनपछि नेपालको अमलेखगञ्ज डिपोमा आइपुगेको थियो।
पाइपलाइन उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका छन्। भिडियो कन्फेरेन्सबाट उद्घाटन गर्ने क्रममा प्रधानमन्त्री ओलीले मोदीलाई नेपाल आउन आग्रह गरेका हुन्।
ओलीले भारतीय सहयोगबाट पेट्रोलियम पाइपलाइनका अतिरिक्त अन्य आयोजना अघि बढिरहेको भन्दै ती पनि समयमै सम्पन्न हुने विश्वास व्यक्त गरे। जवाफमा भारतीय प्रधानमन्त्री मोदीले दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पाइपलाइन समय अगावै सम्पन्न भएको भन्दै यो खुसीको विषय भएको बताए।
मोदीले पाइपलाइनबाट पेट्रोलियम पदार्थको आपूर्तिपछि मूल्य घटाउने नेपाल सरकारको योजना नेपाली जनताको हितमा रहेको पनि उल्लेख गरे। पछिल्लो डेढ वर्षमा ओली र आफूबीच ४ पटक भेट भएको भन्दै मोदीले यसले दुई देशको सम्बन्ध राजनीतिक तहमा उच्च विन्दूमा पुगेको पनि उल्लेख गरे।