युएई- ऊर्जा,जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न युएईमा रहेका नेपालीलाई आग्रह गरेका छन्।
विश्व ऊर्जा सम्मेलनमा भाग लिन आबुधावी आएका मन्त्री पुनले नेपाली राजदूतावासमा आयोजित नेपाली समूूदायसग आयोजित अन्तक्रिया कार्यक्रममा बोल्दै ऊर्जा क्षेत्रमा लगानीको वातावरण बनेको भन्दै आफ्नो आर्थिक अवस्थाअनुसार लगानी गर्न आग्रह गरेका हुन्।
‘अहिले नेपालमा लगानीका लागि उपयुक्त वातावरण छ, सरकारले १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखेर आकर्षक आयोजना अघि बढाएको छ’, उनले भने, ‘तपाईंहरुले पनि यसमा लगानी गरेर प्रतिफल लिनुुहोस्।
उनले विदेशमा रहेका नेपालीलाई लक्षित गरेर ऊर्जा मन्त्रालयले रेमिट हाईड्रोको सुरुवात गर्ने तयारी गरेको जानकारी दिँदै त्यसमा लगानी गर्न आग्रह गरे।
जनतालाई जलविद्युतसँग जोड्न सरकारले जनताको जलविद्युत कार्यक्रम समेत सञ्चालनमा ल्याएको भन्दै त्यसमा सहभागी हुन समेत उनले नेपाली समुुदायका प्रतिनिधिलाई आग्रह गरे।
मन्त्री पुनले युुएईमा बसेर देशको अर्थतन्त्रमा योगदान पुर्याएकोमा धन्यवाद दिँदै यहाँ सिकेको ज्ञान र अनुुभव समेत लिएर देश फर्कन आग्रह गरे।
उनले फरक राजनीतिक विचार र आस्थाले कुनै फरक नपर्ने भन्दै देशको हित सोच्नु सबै सचेत नागरिकको पहिलो कर्तव्य भएको बताए।
‘हाम्रो विचार, आस्था र सोच फरक हुनसक्छ। तर, पहिलो कुरा देश हो। विकास र समृद्धि सवै विचार बोक्ने नागरिकलाई चाहिएको छ। त्यसैले हामी सबै मिलेर गरिबी र पछौटेपनविरुद्ध मिलेर लडौँ’, उनले भने।
नेकपाका नेतासमेत रहेका मन्त्री पुनले सरकारले पहिलो वर्ष नीतिगत काममा ध्यान दिएको भन्दै यो वर्ष कामले गति लिने दावी गरे।
सरकारले भ्रमण वर्ष २०२० सञ्चालन गर्ने तयारी गरेको जानकारी दिँदै मन्त्री पुनले २० लाख पर्यटक भित्रयाउन सरकारले पूर्वाधारको तयारी गरिरहेको जानकारी दिए।
मन्त्री पुनले देशमा राजनीतिक र नीतिगत स्थिरता रहेको र पर्यटक क्षेत्र पनि फस्टाउँदो अवस्थामा रहेको बताए।
सरकार पुर्वाधार निर्माणको काममा लागिरहेको भन्दै उनले भैरहवा र पोखरा एयरपोर्ट पनि चाँडै सञ्चालनमा उाउने बताएा ‘नेपालको अर्थतन्त्रमा ५३ प्रतिशत योगदान सेवा क्षेत्रको छ, यसमा पनि तपाईंहरुले पनि लगानी गर्नुहोस्’, उनले भने।
उनले १८ महिनामा लाइसेन्स लिएर काम नगर्ने १ सय ९ वटा जलविद्युत कम्पनीको लाईसेन्स खारेज गरेको जानकारी दिँदै आगामी दिनमा निर्माणको चरणमा गएपछि मात्र लाइसेन्स दिने गरी सरकारले नियम बनाउने तयारी थालेको जानकारी दिए।
विदेशमा रहेको नेपाली राजदूतवासले नेपाली नागरिकको सुरक्षा र सहयोगमा ध्याज पुर्याउनुपर्ने मन्त्री पुनको भनाई थियो।