प्राध्यापक चैतन्य मिश्र नेपालका अग्रणी समाजशास्त्री हुन्। नेपाली समाज, नेपालको आधुनिक राजनीति र मार्क्सवाद विषयक बौद्धिक विमर्शमा झन्डै चार दशकदेखि उनको नेतृत्वदायी भूमिका रहँदै आएको छ।
हालै उनको नेपाली भाषाको तेस्रो पुस्तक ‘लोकतन्त्र र आजको मार्क्सवाद’ प्रकाशन गरेका छन्। यसै विषयमा प्राध्यापक मिश्रसँग संगीत र दीपक सापकोटाले लिएको अन्तर्वार्ता आजको नयाँ पत्रिका (झन् नयाँ)मा छापिएको छ।
तपाईंले किताबमा पनि संकेतमा ‘यो देश रहन्छ/रहन्न भन्न सकिन्न’ लेख्नुभएको छ। नेपाल रहन्न कि भन्ने शंका कुन पृष्ठभूमिका आधारमा गर्नुभएको हो?
केही कुरा पनि स्थायी हुँदेन। भारतमा पाँच सयभन्दा बढी राज्य थिए, कहाँ बिलाए तिनीहरू? पछिल्लो कस्मिरसम्म आइपुग्दा ती सबै भारतमै बिलाए, नामेट भए। त्यस्तै थोरै देशमध्ये नेपाल बच्यो। यो हामीले गर्व गर्ने कुरा हो। यसले केही जिम्मेवारी दिन्छ। त्यो वहन गर्ने कुरा पनि हो।
तर ‘हामी नरहन सक्छौं है’ भन्ने कुराले त्यो चेत खुल्छ। यस्तो भन्दा मानिसलाई ‘यो देशलाई अपहेलना गरेको, भन्नै नहुने, सोच्नै नहुने कुरा’ जस्तो लाग्छ। तर संसारैभरि उथलपुथल त हुन्छ। विश्वको इतिहास हेर्ने हो भने यस्तो धेरै भएको देखिन्छ।