काठमाडौं- पञ्चायती कालमा १० वर्ष भूमिगत राजनीति गरेकी अष्टलक्ष्मी शाक्य तत्कालीन एमालेको नवौं महाधिवेशनबाट उपाध्यक्ष निर्वाचित भइन्। राज्यका सबै अंगमा एक तिहाइ महिला प्रतिनिधित्व सुनिश्चित भइसक्दा पनि सत्तारूढ नेकपाले महिलाविहीन सचिवालय बनाएकामा उनको असन्तुष्टि छ।
आफूलाई प्रदेश ३ को मुख्यमन्त्री हुन नदिन राष्ट्रपति विद्यादेवी भण्डारीदेखि पार्टी अध्यक्ष केपी ओलीसम्म संलग्न रहेको उनको आरोप छ। शाक्यसँग जनक नेपालले गरेको कुराकानी भदौ २९ को नेपाल साप्ताहिकमा छापिएको छ।
सत्तारूढ नेकपाको मूल नेतृत्वमा महिला छैनन्, किन ?
पूर्वएमाले होस् वा पूर्वमाओवादी, महिलाको त्याग र बलिदान कम छैन। लोकतन्त्र, गणतन्त्र ल्याउन महिलाको पनि पुरुषजत्तिकै भूमिका छ।नेकपाको ९ सदस्यीय सचिवालयमा महिला छैनन्। सिंगो कमिटीमा पुरुष मात्र बस्दा अप्ठेरो मान्नुपर्ने हो।
तपाईंलाई मुख्यमन्त्री बन्नचाहिँ कसले रोक्यो?
भन्न हुन्छ/हुँदैन, त्यसमा राष्ट्रपतिजी पनि लाग्नुभयो। अध्यक्षले समेत चाहनुभएन । गुटबन्दी नगरिएको भए सांसदलाई होटलमा राखेर भोट हाल्ने बेला मात्र किन ल्याइयो? सातमध्ये एउटा महिला मुख्यमन्त्री हुँदा कसैले छिः भन्थेनन् होला। मलाई चुनावदेखि भाग्ने तपाईं भनियो।आफ्नै पार्टीभित्र यतिसम्म धोका दिइन्छ भन्ने मैले सोचेकै थिइनँ।