भक्तपुर- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले कागज मिलाउन जान्नेलाई नभएर सहि रूपमा जनताको पक्षमा काम गर्नेलाई विकास योजनाका काम दिन स्थानीय जनप्रतिनिधिहरूलाई आग्रह गरेकी छिन् ।
राष्ट्रिय सहकारी महासंघ लिमिटेडले मन्त्रालयको सहयोगमा ‘प्रदेश तथा स्थानीय तहको समृद्धिका लागि सहकारी’ विषयमा आयोजना गरेको दुई दिने प्रादेशिक गोष्ठीलाई आइतबार भक्तपुरमा सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् ।
मन्त्री अर्यालले खासगरी योगना बाँडफाँडका क्रममा हुनेगरेका बेथितिलाई इङ्गित गर्दै कागज मिलाएर व्यक्तिगत स्वार्थमा प्रयोग गर्नेलाई नभएर सहि रूपमा जनताको काममा योजना लगाउनेलाई काम दिन आग्रह गरिन् ।
‘योजना माग्न आउदाखेरि कागज बनाएर ल्याउनेलाई मात्र योजना नदिनुस् । काम गर्नेले पाउँदैन । कागज बनाउनेले पाउँछ । कागज बनाउनेले पाउछ नीजि स्वार्थमा प्रयोग गर्छ ।
सबै जनतालाई समेटेर काम गर्नेले योजना पाउदै पाउँदैन । किनकी उसको नेतासँग पहुँचै छैन । र उ दिनदिनै आउन पनि भ्याउदैन । अनि भेट्न पनि सक्दैन’, मन्त्री अर्यालले भनिन् ।
त्यसकारण अब योजना बाँडफाँड गर्दा यस्ता कुरालाई पनि ध्यान दिन मन्त्री अर्यालले आग्रह गरिन् । उनले भने, ‘कागज मिलाउनेलाई होइन काम गर्नेलाई योजनाका काम दिनुस ।
अब हामीले कागज मिलाउनेलाई होइन काम गर्नेलाई भन्ने हिसाबले केही न केही हिजो भन्दा फरक हुनेगरी हामी अगाडी बढौं ।’
जनताको अपेक्षा यही पनि यही भएको भन्दै उनले अहिले सरकार ठिक स्प्रिटमा अगाडि बढिरहेको बताइन् । तर अहिलेपनि निराशा बढाउने कोशिस गरिएपनि निराशा हुनपर्ने कारण भने नभएको उनको भनाइ थियो ।