गोरखा- राष्ट्रिय गौरबको आयोजनाको रुपमा निर्माण गर्न लागिएको बूढिगण्डकी जलबिद्युत आयोजनाको डुबान क्षेत्रमा पर्ने गोरखाको खहरे र आरुघाट क्षेत्रका बासिन्दाले तत्काल मुअब्जा निर्धारण गर्न माग गरेका छन् ।
गोरखा सदरमुकाममा आयोजित ‘बुढिगण्डकी जलबिद्युत आयोजनाको अबस्था र चुनौती’ बिषयक अन्तरक्रिया कार्यक्रममा प्रभावित क्षेत्रका बासिन्दाले यस्तो माग गरेका हुन् ।
उनीहरुले आयोजनाले तत्काल मुअब्जा निर्धारण गरि बितरण गर्न नसके रोक्का गरिएको जग्गा फुकुवा गर्न पनि सरकारसंग माग गरेका छन् ।
कार्यक्रममा बोल्दै आरुघाट गाउँपालिकाका अध्यक्ष पूर्ण दाहालले गएको ४ बर्षदेखि सरकारले आरुघाट र खहरे क्षेत्रको जग्गा किनबेचमा रोक लगाउदै आएकाले अब अहिलेसम्मको क्षतिपूर्ति सहित रोक्का भएको जग्गा फुकुवा गर्नुपर्ने बताए ।
‘आरुघाटका प्रभावितहरु सवैले पटक–पटक उर्जामन्त्रीलाई समेत भेटेर मुअब्जा निर्धारण गरि बितरणका लागि गएर भनेका छौ, तर अहिलेसम्मपनि सुनुवाई भएन, जिल्लाका सवै राजनीतिक दल जनप्रतिनिधिले मुअब्जा निर्धारण गर्न आग्रह गरिरहेका छन्।’ उनले प्रश्न गरे, अब कसले रोक्यो ?’
उनले मुअब्जा निर्धारण फेरि ढिलाई गरिए आरुघाट खहरे क्षेत्रका जनता अनिर्णयको बन्दी भएरबस्न नसक्ने बताए ।
कार्यक्रममा बोल्दै प्रभाबित क्षेत्रका शिब थापाले मुअब्जा निर्धारण गर्न ढिलाई गर्ने र जति ढिलो उति आयकर भन्दै मुअब्जामा कर कटौती गर्दा जनतालाई मार परेको बताए ।
‘कतै निर्धारण समेत गरिएको छैन, उनले भने ‘फेरी आयोजना आफै प्रत्येक बर्ष सरकारले मुअब्जामा पनि आयकर बढाउदै लगेको छ, यसबाट प्रभावित क्षेत्रका जनतालाई सुकुम्बासी बनाउने काम हुदैछ ।’
कार्यक्रममा बोल्दै आरुघाट गाउँपालिकाका जगन्नाथ खनालले २०४२ सालदेखि चर्चा शुरु भएको आयोजनाको अहिलेसम्म कार्य प्रगती हेर्दा आयोजना बन्नेमा शंका रहेको बताए ।
उनले आयोजना जसरी पनि बन्नुपर्छ भन्ने प्रभावित क्षेत्रका जनताको चाहाना रहेको भन्दै आरुघाट खहरे क्षेत्रको डुवानमा पर्ने जमिनको मुअब्जा निर्धारणमा ढिलाई गर्न नहुनेमा जोड दिए ।
‘ग्रामिण क्षेत्रको मुअब्जा निर्धारण गरेर बजार क्षेत्रको बाँकी राखियो तर अहिलेसम्म मुअब्जा निर्धारण गर्ने कुरा कत्ति अघि बढ्न नसक्नु के कारण हो ? भन्दै उनकाे प्रश्न थियाे ।
खनालले अब तत्काल मुअब्जा निर्धारण नगरे प्रभावित क्षेत्रका जनता सरकारका बिरुद्ध नै आन्दोलन उत्रन सक्ने चेतावनी दिए ।