काठमाडौं- सत्तारूढ नेकपा चीनतिर ढल्किएको छ। चिनियाँ कम्युनिस्ट पार्टीले अवलम्बन गर्दै आएको ‘सी चिनफिङ विचारधारा’ बारे दुवै देशका कम्युनिस्ट पार्टीले काठमाडौंमा छलफल गरी भाइचारा सम्बन्ध स्थापना गर्ने घोषणा गरेका हुन्।
दुई पार्टीले एकअर्काका विचार, सिद्धान्त र प्रयोगलाई बुझ्ने तथा समाजवादको दिशातिर जाने रणनीतिक योजनाबारे छलफल चलाएका छन्।
आगामी दिनमा दुई देशका केन्द्रीय पार्टी स्कुलमा प्रयोग गरिने पाठ्यक्रमको तयारी र अध्यापन विधि, नेताकार्यकर्ताको द्विपक्षीय अध्ययन भ्रमणमार्फत अनुभव आदानप्रदान गर्ने अवसरको सिर्जना गर्ने प्रतिबद्धता दुवै पार्टीका नेताहरूले गरेका छन्।
नेकपा स्कुल विभाग र चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागले काठमाडौंमा संयुक्त रूपमा औपचारिक कार्यक्रम आयोजना गरी एकअर्कालाई सहयोग गर्ने नीति प्रस्ट्याएका हुन्।
दुई दिनसम्म चल्ने अन्तरक्रियामा नेकपाका झन्डै तीन सय र चिनियाँ कम्युनिस्ट पार्टीका ४० जना नेता सहभागी रहेकाे खबर आजको अन्नपूर्ण पोस्टमा रामकृष्ण अधिकारीले लेखेका हुन्।
कम्युनिस्ट पार्टी स्थापनाको झन्डै १०० वर्ष, जनवादी गणतन्त्र चीन स्थापनाको ७० औं वर्ष र चिनियाँ राष्ट्रपतिको हुन लागेको आसन्न नेपाल भ्रमणको पूर्वसन्ध्यामा दुई पार्टीबीच विकसित भइरहेको सम्बन्धले नेकपा चीनतिर ढल्किएको स्पष्ट हुन्छ।