काठमाडौं- नेपालको दुई दिने राजकीय भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङ र पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।
सीले शनिबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतल निवासमा भेटवार्ता गरी सोल्टी होटलमा फर्किएपछि देउवासँग भेटवार्ता गरेका हुन्। दुवै नेताले करिब २० मिनेट कुराकानी गरेका थिए।
भेटमा देउवाले ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बिआरआई)प्रति आफ्नो समर्थन सुनाएका थिए। साथै, नेपालमा चिनियाँ लगानीको अपेक्षा पनि प्रस्तुत गरेका थिए।
कांग्रेसले समर्थन राखिरहेको एक चीन नीतिप्रति सीले आभार व्यक्त गरेका थिए। भेटमा उनले देउवालाई चीन भ्रमणको निम्तोसमेत दिएका छन्।
आइतबार भने सीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा नेकपा नेताहरुलाई भेट्ने कार्यक्रम छ। उनले प्रधानमन्त्रीसँग पनि आजै भेटवार्ता गर्नेछन्।