काठमाडाैं- नेपालकी बोनिता शर्मा विश्वका प्रेरणादायी एवं प्रभावशाली महिलाको सूचीमा पर्न सफल भएकी छिन् ।
बिबिसीले हरेक वर्ष सार्वजनिक गर्ने संसारभरीका सय प्रेरणादायी एवं प्रभावशाली महिलाको यस वर्षको सूचीमा पर्न उनी सफल भएकी हुन् ।
बोनिता द सोसल चेन्जमेककर्स एण्ड इनोभेटर्सकी संस्थापक हुन् । उनले नेपालका महिला तथा बालिकालाई शिक्षा तथा सशक्तिकरणका लागि सहयोग गर्दै आएकी छिन् ।
कुपोषणका कारण हुने बाल मृत्युदर घटाउन उनले न्यूट्रिबेड्स डिजाइन गरेकी छिन् ।
न्यूट्रिबेड्स एउटा यस्तो ब्रासलेट हो जुन भिन्न रङका दानाले बनाइएका हुन्छन् जसले नयाँ आमाहरुलाई आफ्नो नवजात शिशुलाई के खुवाउने भनेर सचेत गराउँछ ।
उनको यो प्रोजेक्ट युनेस्को मलाला फन्ड फर गर्ल्स राइट टु एजुकेट कोषमार्फत् पुरस्कृतसमेत भएको छ ।
बोनिताले आफ्नो ट्वीटर अकाउन्टमा आफू सय प्रभावशाली महिलाको सूचीमा समावेश भएकोमा खुसी व्यक्त गरेकी छिन् ।
उनले लेखेकी छिन्, ‘मैले रोलमोडलको रुपमा हेर्ने महिलाहरुको सूचीमा आफूलाई पनि पाउँदा निकै खुसी छु । यसले मलाई थप सशक्त महसुस गराएको छ ।’
उनीसँगै संसारका अन्य ९९ महिलालाई पनि बिबिसीले प्रेरणादायी तथा प्रभावशालीको सूचीमा राखेको छ ।