काठमाडौं– जबर्जस्ती करणी प्रयास अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराले जिल्ला सरकारी वकिलसमक्ष इन्कारी बयान दिएका छन्।
पीडित भनिएकी महिलासँग पारिवारिक सम्बन्ध रहेको र उनको अभिभावक समान रहेकाले जबर्जस्ती करणी कल्पना पनि गर्न नसक्ने भन्दै उनले इन्कारी बयान दिएका हुन्।
घटना भएको दिन आफू घरभित्र प्रवेश नगरेको महराको भनाइ रहेकाे खबर आजको नयाँ पत्रिकामा सन्तोष भट्टराईले लेखेका छन्।
घटना भएको दिन आफू महिला बसेको घर पर नै रहेर फोन गरेको, तर उनले रिसिभ नगरेपछि १५ मिनेटमै फर्किएको महराले बयान दिएका छन्।
उनले केही विधेयकप्रति असन्तुष्टि जनाएकाहरूले नै आफूलाई झुटो आरोपमा फसाउने षड्यन्त्र गरेको आरोप लगाएका छन्।
चस्माबारे सोधिएको प्रश्नमा महराले लगाइरहेको चस्मा देखाउँदै भने, ‘मेरो चस्मा त यही हाे, लगाइरहेकै छु।’