गोरखा- गोरखा क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका सांसद हरिराज अधिकारीले बुढीगण्डकी जलविद्युत आयोजनाबाट प्रभावित आरुघाट लगायतका बजार क्षेत्रको मुआब्जा तत्काल निर्धारण नगरे राजीनामा जनतासम्म जाने चेतावनी दिएका छन् ।
उर्जामन्त्रालयमा भएको छलफलमा उनले जनतासमक्ष गरेको वाचा पूरा गर्न नसकेकाले (पदमा बस्न) नैतिक समस्या परेको भन्दै यस्तो चेतावनी दिएका हुन् ।
‘नैतिक रुपले पनि के भनेर बस्ने त ? ४ वर्ष भइसक्यो, एक नम्बर क्षेत्रको अधिकांश भाग त्यसले (बुढीगण्डकी डुवान क्षेत्रले) कभर गरेको छ, जनताको जग्गा रोक्का भएको छ, बैंकमा ऋण छ, जनप्रतिनिधिको हैसियतले कसरी बस्ने ?’ उनले भने ।
आफूहरुले बुढीगण्डकी आयोजना बनाउने र स्थानीयलाई चित्तबुझ्दो मुआब्जा र पुनर्बास गराउने वाचा गरेर मत पाएको तर आफ्नै पार्टीको सरकारले माग सुनवाई नगरेको उनको गुनासो थियो ।
बुढीगण्डकी जलविद्युत आयोजनाको डुवान क्षेत्रभित्रको स्थानीय बजार गोरखाको आरुघाट र आर्खेत, धादिङको विशालनगर र खहरेको बाहेक अन्यको मुआब्जा वितरण भइसकेको छ ।
छलफलमा धादिङका पुर्वमन्त्री गंगालाल तुलाधर, कांग्रेस नेता चीनकाजी श्रेष्ठ, सांसद हरि अधिकारी, प्रदेश सांसद रामकुमार अधिकारी, प्रतिनिधीसभाका सदस्य भुमि त्रिपाठी र पुर्व सांसद गुरु बुर्लाकोटी सहभागी थिए।