काठमाडौं- एसियाली विकास बैंक (एडिबीले) मुग्लिन–पोखरा सडक स्तरोन्नति गर्न ऋण सहयोग स्वीकृत गरेको छ। उक्त सडकको स्तरोन्नतिका लागि एडिबीले २२ अर्ब ऋण स्वीकृत गरेको हो।
एडिबीका अनुसार मुग्लिन र पोखरालाई जोड्ने महत्वपूर्ण सडकको स्तरोन्नतिका लागि १९ करोड ५० लाख अमेरिकी डलर (करिब २२ अर्ब रुपैयाँ) ऋण स्वीकृत भएको छ।
उक्त सडक काठमाडौं–पोखरा तथा भारत र बंगालादेश जोड्ने क्षेत्रीय करिडोरका रुपमा रहने एडिबीको भनाइ छ।
भुपरिवेष्टित राष्ट्र नेपालमा ९० प्रतिशत सामान तथा यात्रु सडकको माध्यमबाट ओसारपसार र आवतजावत गर्ने गरेका छन्।
यस्तो अवस्थामा नेपालको सडक स्तरीय हुनुपर्छ। त्यसैलाई मध्यनजर गर्दै एडिबीले मुग्लिन पोखरा सडक खण्डलाई सुरक्षित, स्तरीय र विश्वसनीय सडकको रुपमा विस्तार गर्न ऋण स्वीकृत गरेको एडिबीले जनाएको छ।
काठमाडौंबाट दुई सय किलोमिटरको दुरीमा रहेको पोखरा पुग्न हाल ५ घण्टा भन्दा बढी लाग्ने गरेको छ।
दुई लेनको उक्त बाटोले दैनिक औषतमा ७ हजार ५ सय सवारी आवतजावत गराइरहेको छ। सवारीको संख्या बढ्दै गइरहेको अवस्थामा सडकको स्तरोन्नति समेत अपरिहार्य रहेको एडिबीको भनाइ छ।
आर्थिक विकासका लागि राष्ट्रिय राजमार्गहरुको स्तरोन्नति अपरिहार्य छ। मुग्लिन–पोखरा सडक परियोजना अन्तर्गत पोखरादेखि आबुखैरेनीसम्मको ८१ किलोमटिर सडक ४ लेनमा स्तरोन्नी गरिने एडिबीले जनाएको छ।
उक्त सडकमा दुर्घटनमा रोक्न बार, वार्निङ लाइट सिस्टम समेत जडान गरिनेछ। आबुखैरेनीदेखि मुग्लिनसम्मको ८ किलोमिटर सडकलाई सहायक परियोजनाका रुपमा विस्तार गरिने एडिबीले जनाएको छ।
सो परियोजना ५ वर्ष भित्र सक्ने लक्ष्य लिइएको छ। मुग्लिन पोखरा सडक स्तरोन्नतिका लागि २५४ मिलियन डलर लाग्ने अनुमान गरिएको छ।
त्यसमध्ये १९५ मिलियन एडिबीले ऋणी सहयोग गर्ने छ भने नेपाल सरकारले ५९ मिलियन डलर लगानी गर्नेछ। यो परियोजना २०२५ को अन्त्यसम्ममा सकिनेछ।