गाेरखा- विगत ४० वर्ष देखि प्रयोगविहिन पालुङटार विमानस्थल सञ्चालनका लागि विभिन्न क्षेत्रबाट प्रयास भइरहेकाे चर्चा चल्न थालेकाे छ ।
पालुङ्टार नगरपालिका-५ अवस्थित उक्त विमानस्थलको २०१६ सालमा तत्कालीन निर्माण मन्त्री गणेशमान सिंहले शिलान्यास गरेका थिए। पृथ्वीराजमार्ग सञ्चालन हुनु पूर्व यो विमानस्थल प्रयोगमा थियो। तर २०३६ सालदेखि अहिलेसम्म विमानस्थल बन्द अवस्थामा छ।
हवाईमैदानमा वितेका ४० वर्षदेखि एउटा पनि जहाज ल्याण्ड भएको छैन। लामो समयदेखि प्रयोगमा नआएपछि यो हवाईमैदान अहिले अलपत्र अवस्थामा रहेको छ। २०१७ सालमा निर्माण भएर ०१८ सालदेखि उडान सेवा सुरु भएपनि वर्षौंदेखि खेलमैदान, गाईवस्तु चराउने गौचरन, निर्माण सामाग्री थुपार्ने ठाउँ बन्दै आएको छ ।
मस्र्याङ्दी नदी किनारमा तनहुँ तर्फको तुरतुरे बजार र गोरखा तर्फ नयाँबजार, पालुङटार, ठाँटीपोखरी क्षेत्रमा बजारीकरण बढ्दै गएपछि बढेको सवारी चापका कारण हवाईमैदान सवारीसाधान पार्किङ गर्ने थलोका रुपमा पनि प्रयोग हुन थालेको छ ।
२०१७ सालतिर गोरखा, तनहुँ, लमजुङका विभिन्न क्षेत्रमा खाद्यन्न अभाव हुँदा जहाज मार्फत् खाद्यन्न ढुवानी गरिएको र त्यसपछि ०३४ सालसम्म यि ३ जिल्लामा निर्माण भएका खानेपानी योजनाका लागि आवश्यक पर्ने फलामे पाईपहरु पनि ओसारपोसार गरिएको स्थानीय बुढापाकाहरु बताउँछन्।
१६ वर्षसम्म सो मैदानमा उडान सेवा जारी रहेकोमा सो अवधिमा यात्रुहरु कम र विभिन्न खालका विकास निर्माणमा प्रयोग हुने सामाग्रीहरु वढी ढुवानी भएको पनि उनीहरुको भनाई छ।
डेढ किलोमिटर लम्वाई र ५ सय मिटर चौडाई क्षेत्रफलमा ६० वर्षअघि निर्माण गरिएको सो मैदान पृथ्वीराजमार्गमा यातायात सेवा सञ्चालनमा आएसँगै गोरखा, तनहुँ र लमजुङ सदरमुकाममा मोटर पुगेपछि उडान स्थगित भएको बुझिएको छ ।
पूर्वाधार सुधारका बजेट विनियोजन
पालुङ्टार विमानस्थलको पूर्वाधार सुधारका लागि यस वर्ष बजेट विनियोजन गरिएको छ। लामो समय देखी बन्द रहेको पालुङ्टार विमानस्थल सञ्चालनमा ल्याउन नेपाल सरकारले बजेट विनियोजन गरेको हो।
विमानस्थलको स्तर उन्नतिका लागि आर्थिक वर्ष २०७६/७७ मा नेपाल सरकारले ८८ लाख ४९ हजार ५५८ रुपैयाँ विनियोजन गरेको छ । विनियोजित बजेटबाट यस वर्ष विमानस्थलको धावनमार्ग, ट्याक्सी–वे र पेरिफेरी रोड निर्माण गरिनेछ।
ढल निकास, एक्सेस रोड निर्माण र एप्रोनका लागि बहु वर्षे आयोजना अन्तर्गत बजेट विनियोजन भएको नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी नायव निर्देशक त्रिलोचन पौड्यालले जानकारी दिए। विमानस्थल सञ्चालनमा आए गोरखा, तनहुँ, लमजुङ र मनाङका जनता लाभान्वित हुनेछन्।
विमानस्थल सञ्चालनमा आएपछि यहाँको पर्यटन क्षेत्रको विकास हुने र आर्थिक समृद्धिको ढोका पनि खुल्ने छ । किनकि अहिले पालुङटार नगरपालिकाले नेपालकै एतिहासिक रूपमा रहेकाे लिगलिग काेटलाइ पर्यटन भित्याउन विभिन्न खालका याेजनाहरू लयाउदै छ ।
उडान सेवा बन्द भएको धेरैवर्ष पछि विमानस्थल कार्यालयले सो मैदान छेउमा एउटा टहरो निर्माण गरेकाले स्थानीयमा पुनःहवाई सेवा सुचारु हुने आशा जागेको थियो । तर केहीवर्ष देखि सो कार्यालय पनि प्रयोग विहीन अवस्थामै रहेको छ ।
गण्डकी प्रदेशकाे राजधानी पोखरामा अन्तराष्ट्रिय विमानस्थलको शिलान्यास भई निर्माणकार्य सुरु भएको भन्ने खबर सुनेपछि यतिबेला यो हवाईमैदान पनि पुनः प्रयोगमा आउनेमा स्थानीयबासी आशावादी देखिएका छन्।
विभिन्न समयमा भएका अध्ययनहरूका अनुसार विमानस्थल सञ्चालनमा ल्याउन सकिने तर यात्रुकाे संख्या कम हुने विभिन्न प्रतिवेदनहरूले देखाएका कारण विमानस्थल सञ्चालनमा ढिलाइ भएकाे जानकारहरू बताउछन् ।
विमानस्थल सञ्चालनमा ल्याउनका लागि तत्कालिन माओवादीका नेता एवम पुर्व प्रधानमन्त्री डा बावुराम भट्टराइ देखि तत्कालनि सांसद हितराज पाण्डे, हालका सांसद चुडामणि खड्का सम्मले विभिन्न क्षेत्रमा लिवङ गर्दै आएका छन् ।
‘डा भट्टराइ २०६४ सालमा निर्वाचित भएपछि विमानस्थल सञ्चालनमा ल्याउन ठुलाे प्रयास गरेका थिए तर सकेन्’ हाल समाजवादी पार्टीका नेता समेत रहेकाे ति नेताले भने ‘त्याे समयमा डा. सापले विमानस्थल सञ्चालनमा ल्याउन के कस्ताे समस्या तथा के के भाैतिक संरचना निर्माण गर्नुपर्छ त्यसकाे प्रतिवेदन ल्याउन भनेका थिए । त्याे प्रतिवेदन त अायाे तर कार्यन्वयन तर्फ गएन ।’
२०७० काेनिर्वाचनमा विजयी भएपछि तत्कालिन क्षेत्र न २ का सांसद हितराज पाण्डेले पनि विमानस्थल सञ्चालनमा ल्याउन पहल नगरेका हाेइन् तर उनी पनि सफल हुन सकेन् ।
२०७४ मा भएकाे प्रतिनिधि सभा प्रदेश सभा निर्वाचनमा उम्मेदवार बनेका नेताहरूले चाडैं नै विमानस्थल सञ्चालन ल्याउने भन्दै भाेट मागे तर अहिलेसम्म सञ्चालनमा आउन सकेकाे छैन् । निर्वाचनमा पराजित भएपनि हाल नेकपाका प्रवत्ता समेत रहेका नारायणकाजी श्रेष्ठ सहितका नेताले तत्कालिन पर्यटनमन्त्री स्वगिय रविन्द्र अधिकारीलाइ विमानस्थल सञ्चालनका लागि पहल गर्न आग्रह गरेपछि अहिले चर्चाकाे विषय बनेकाे छ ।
मन्त्रि अधिकारीले अध्ययन गरी प्रतिवेदन दिन निर्देशन दिएपछि त्यहि निर्देशनकाे पहलमा आएकाे प्रतिवेदनका आधारमा अहिले नेपाल सरकारले बजेट छुट्टाएकाे छ । विगतमा पनि पर्यटनमन्त्रीले विमानस्थल सञ्चालनमा ल्याइने छ नभनेका हाेइन तर सञ्चालनमा आउन सकेन् ।
पालुङ्टार विमानस्थल समुद्री सतहदेखि ४५७ मिटर उचाइमा रहेको छ। १ हजार ९७ मिटर लम्बाइ रहेको यस विमानस्थलको चौडाइ २ सय मिटर रहेको छ।
तीन सय १० रोपनी बढि जग्गा, कति अतिक्रमण भयाे कसैलाइ थाहा छैन्
जिल्लाकै एउटा मात्रै हवाई मैदान पालुङटार हवाई मैदानको तीन सय १० रोपनी, तीन आना दुई पैसा एक दाम जग्गा अहिले साँघुरिएको छ।
साबिकको गाईखुर गाविसमा पर्ने कित्ता नम्बर ७२० को ९७ रोपनी ११ आना, पालुङटार ९ को किनं १९९५ को दुई सय १२ रोपनी एक आना, कित्ता नम्बर १७०२ को तीन रोपनी ५ आना र १७०७ को १९ रोपनी आठ आना जग्गा रहेको नापी कार्यालयको फिल्डबुकमा उल्लेख छ।
पहिले तारबार गरिएको यो जग्गा अहिले तारबार सार्दै अतिक्रमण भएको छ। गौचरन र सडकले विमानस्थलको जग्गा झनै खुम्चिएको र अतिक्रमण गर्नेलाई सहज बनाईदिएको छ।