काठमाडाैं- चारदिने नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले फेवातालमा जलविहार गरेका छन् ।
बिहीबार बिहान पर्यटकीय नगरी पोखरा आएका उनले नेपाल प्रहरीको डुंगा चढेर फेवातालको सयर गरेका हुन् ।
फेवातालमा डुंगा सयरपछि राष्ट्रपति हमिद नेपाली सेनाको हेलिकोप्टरबाट रुपा गाउँपालिकास्थित रुपाकोट रिसोर्ट पुगी त्यहाँबाट पर्यटकीय नगरी पोखराको दृश्यावलोकन गर्ने कार्यक्रम रहेको छ।
राष्ट्रपति हमिद हेलिकोप्टर चढेर र भ्रमण दलका अन्य सदस्य गाडीबाट रुपाकोट रिसोर्ट जाने कार्यक्रम रहेको गण्डकी प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए । रुपाकोट रिसोर्टमा करिब एक घण्टा बसेपछि उनी आजै अपराह्न सवा चार बजेतिर काठमाडौं फर्किने कार्यक्रम छ ।

बङगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग नेपाल भ्रमण दलका सदस्यहरु बिहीबार पोखराको फेवातालमा डुङगा शयर गर्दै । तस्बिर प्रदीपराज वन्त, रासस
राष्ट्रपति हमिदलाई पोखरा विमानस्थलमा गण्डकी प्रदेश प्रमुख अमिक शेरचन, कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारीमा रहेका अर्थमन्त्री किरण गुरुङ, सभामुख नेत्रनाथ अधिकारी, प्रतिनिधिसभा सदस्य खगराज अधिकारीलगायतले स्वागत गरेका थिए ।

बङगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग नेपाल भ्रमण दलका सदस्यहरु बिहीबार पोखराको फेवातालमा डुङगा शयर गर्दै । तस्बिर प्रदीपराज वन्त, रासस
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ भने अमेरिकामा छन् ।