काठमाडाैं- नेपालीलाई ‘अन अराइभल भिसा’ दिने देशलाई मानव तस्कर समूहले ‘ट्रान्जिट’ रूपमा प्रयोग गर्ने क्रम बढेको छ ।
भियतनाम र बोलिभिया नेपालीलाई ओसारपसारमा ट्रान्जिट देशका रूपमा प्रयोग हुन थालेको प्रहरीले जनाएको छ ।
दुवै देशले नेपालीलाई ‘अन अराइभल भिसा’ दिन्छन् । जस कारण ती देशका रुटमार्फत विभिन्न देशमा नेपालीको अवैध रूपमा ओसारपसार हुन थालेको हो ।
भियतनाममा रहेको एक भारतीय गिरोहले सयौँ नेपालीलाई त्यहाँ बोलाउने र विभिन्न देश लैजाने गरेको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको खबर अाजकाे नयाँपत्रिकामा नवराज मैनालीले लेखेका छन् ।
त्यसरी भियतनामबाट विभिन्न देश हुँदै अफ्रिकी देश मलावी पु-याइएका ६ जनाको नेपाल प्रहरीले उद्धार गरेको छ, जसमध्ये चारजना गत सोमबार नेपाल आइपुगे ।
उनीहरूलाई सुरुमा करिब तीन साता भियतनाममा राखिएको थियो । त्यसपछि इथियोपिया, मदागास्कर, जोर्डन, युएई, अजरबैजान हुँदै मलावी लगिएको थियो । सबैजसो अफ्रिकी देशले नेपालीलाई ‘अन अराइभल भिसा’ दिने भएकाले अन्य देश पु¥याउन ती देशलाई ट्रान्जिट बनाउने गरिएको प्रहरीले जनाएको छ ।
भियतनाम भिजिट भिसामा जानेको संख्या धेरै
भियतनाम भिजिट भिसामा जाने नेपालीको संख्या ठूलो रहेको अध्यागमन विभागका अधिकारीहरू बताउँछन् । कतिपयलाई त्यहीँ रोजगारी लगाउने भनेरसमेत लगिएको छ ।
शंकास्पदलाई अध्यागमनले समेत रोक्न थालेको छ । नेपाल प्रहरीका अनुसार मानव तस्करीमा संलग्न भारतीय र नेपालीको समूह त्यहाँ सक्रिय छ ।
त्यस्तै, अमेरिकामा मानव तस्करी गर्ने गिरोहले बोलिभियालाई ट्रान्जिटका रूपमा प्रयोग गर्न थालेका छन् ।
बोलिभियामा ठूलो संख्यामा नेपाली जान थालेपछि अध्यागमनले त्यहाँ विमानस्थलबाटै ‘इन्ट्री रिफ्युज’ गरिदिन थालेको छ ।
ब्युरोका एसपी गोविन्द थपलियाका अनुसार अमेरिका मानव तस्करी गर्नेहरूले दक्षिण अमेरिकन देशहरू ब्राजिल, बोलिभिया र कोलम्बियालाई ट्रान्जिट बनाउने गरेका छन् । पछिल्लो समय बोलिभिया लैजाने क्रम बढेको छ ।
त्यस्तै, पर्यटकीय गन्तव्य भनेको इन्डोनेसियालाई समेत ट्रान्जिट बनाउन थालिएको छ ।
अस्ट्रेलिया पठाउने भन्दै त्यहाँ लगेर बन्धक बनाइएका ६ जनालाई चार महिनाअघि उद्धार गरिएको थियो ।
भारतीय र नेपाली नागरिकको समूहले त्यसरी इन्डोनेसियालाई आधार बनाएर मानव तस्करी गर्दै आएको प्रहरीले जनाएको छ ।