काठमाडौं- खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका कर्मचारीको चरम लापरबाहीका कारण लाखौं मूल्य बराबरको चामल गोदाममै कुहिएको छ ।
नागरिकलाई सुपथ मूल्यमा खाद्यान्न उपलब्ध गराउनुपर्ने सो लिमिटेडले समयमा नै चामल व्यवस्थापन गर्न नसक्दा ठूलो परिमाणको चामल गोदाममै कुहिएको हो । सर्वसाधारण विपन्न नागरिक भने बाहिर धेरै मूल्य तिरेर चामल किन्न बाध्य छन् ।
काठमाडौंको थापाथलीस्थित कम्पनीको अञ्चल कार्यालयको गोदाममा राखिएको ४ सय ८७.२२ क्विन्टल चामल कुहिएको अवस्थामा पाइएको हो ।
सो चामल गोदाम नम्बर २४ र ३० मा राखिएको छ । २४ नम्बर गोदाममा ३ सय २३.१७ क्विन्टल र ३० नम्बर गोदाममा १ सय ६४.०५ क्विन्टल बास्मती चामल कुहिएको अवस्थामा रहेको छ ।
कम्पनीले बास्मती चामल प्रतिकिलो ८३ रुपैयाँमा बिक्री गर्दै आएको छ । प्रतिकिलो ८३ रुपैयाँको हिसाबले हेर्ने हो भने ४० लाख ४३ हजार ९२६ रुपैयाँ मूल्यबराबरको चामल गोदाममै कुहिएको छ ।
चामलमा अत्यधिक धुलोको मात्रा हुँदा गुणस्तर विश्लेषण गर्न समेत कठिन पाइएको छ ।
यसैगरी, थापाथली गोदाममा रहेको कर्णालीको तिते फापरसमेत कम्पनीले बिक्री गर्न नसकेर बिग्रिएको छ ।
कम्पनीको तथ्यांकअनुसार थापाथली गोदाममा ६ सय ४८ क्विन्टल तीते फापर रहेको छ । कम्पनीले २०७३ सालमा कर्णालीका किसानसँग किनेर ल्याएको तीते फापर बिक्री गर्न नसकेर गोदाममै बिग्रिएको अवस्थामा रहेको दाबी कम्पनी स्रोतको छ ।
स्रोतले भन्यो, ‘आफ्नाे स्वार्थ पूरा गर्न खाद्यान्न बिक्री गर्ने नयाँ योजना नल्याएर गोदाममै खाद्यान्न वस्तु थन्क्याउने काम भएको छ ।’