गाेरखा- सुरक्षित निजी आवास पुनर्निर्माणका लागि जनचेतना फैलाउने उद्देश्यले गोरखाका २ नगरपालिका तथा ६ गाँउपालिकामा सचेतना मूलक सडक नाटक प्रर्दशन गरिएको छ ।
स्थानीयलाई नै सहभागी गराएर सुरक्षित निजी आवास पूनर्निर्माणका लागि सचेत हुन समेत सडक नाटक प्रर्दशन गरिएको भारत सरकारद्धारा सहयोग प्राप्त नेपाल आवास पुनर्निर्माण परियोजनाले जनाएको छ ।
सडक नाटकमा पुनर्निर्माणसंग सम्बन्धीत सामाजिक तथा प्राविधिक समेटिने तथा नाटककै माध्यमबाट निजी आवास पुनर्निर्माण सम्बन्धी जिज्ञासा भए समाधान गर्ने प्रयास गरिने परियोजनाका सामाजिक विज्ञ घनश्याम खतिवडाले जानकारी दिए ।
उनले भने, ‘जनसहभागिताका आधारमा आम नागरिकलाई सुरक्षित तथा भूकम्प प्रतिरोधी आवास निर्माण गर्न सहयोग पुर्याउन सडक नाटक स्थानीयस्तरमा मञ्चन गरिएको हो ।’
परियोजनाका अनुसार सामुदायिक रुपमा स्थानीयलाई पनि समेटेर समूह गठन गरि पुनर्निर्माणसंग सम्बन्धीत विभिन्न विषय जस्तै किस्ता लिने समय सीमा, भूमीहिनका समस्या समाधानका उपाय र प्रवलीकरण सम्बन्धी सचेतना तथा सुरक्षित आवास सम्बन्धी विविध विषय नाटकमा समेटिने गरेको छ ।
नाटक मञ्चनका क्रममा भूकम्प प्रभावित घरधनीले निजी आवास निर्माण सम्बन्धी विभिन्न जिज्ञासा राख्ने र परियोजनाको टोलिले त्यसको समाधान पहिल्याउने काम समेत हुने गरेको परियोजनाले जनाएको छ ।
नाटक मञ्चनका क्रममा सम्बन्धीत वडा कार्यालयको समेत सहभागिता रहने गरेको छ ।
हाल सम्म परियोजनाले निजी आवास पुनर्निर्माण क्षेत्रमा काम गरिरहेको २ नगरपालिका तथा ६ गाँउपालिकामा स्थानीयलाई समेटेर समूह गठन गरि सुरक्षित आवासका लागि स्थानीयमा सचेतना तथा क्षमता अभिवृद्धि गर्ने लक्ष्य लिएको छ ।
गोरखा नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष रामबहादुर थापा मगरले पुनर्निर्माण सम्बन्धी जनचेतनामूलक नाटकले सुरक्षित आवास निर्माणमा जोड दिने बताए ।
उनले प्रवलीकरण सम्बन्धी नाटकले प्रवलीकरण नगरिएका घरधनीलाई यसको महत्व बुझ्न सहज भएको बताए ।
शहिदलखन गाँउपालिकाको वडा नम्बर ४ का वडाध्यक्ष कृष्ण बहादुर प्रजाले स्थानीयस्तरमा गरिने जनचेतनामूलक सडक नाटकले सूचनाका साथै मनोरञ्जन पनि दिने बताए ।
वडाध्यक्ष प्रजाले ‘विशेष गरि शीघ्र तथा सूरक्षित निजी आवास पुनर्निर्माणको सूचनाका लागि नाटक प्रभाविकारी माध्यम हो ।’
पुनर्निर्माण सम्बन्धी सामुदायिक नाटकमा स्थानीय आमा समूह, रेडियो श्रोता क्लब, युवा समूह लगायतका समुदायमा सक्रिय समूहको सहभागिता रहेको छ ।
भूकम्प प्रभावित घरधनीलाई पुनर्निर्माण संग जोडिएका विविध विषयमा जनचेतनामूलक एवम् मनोरञ्जनात्मक नाटक मञ्चन गर्दा समुदायमा सकारात्मक सन्देश जाने स्थानीयको भनाई छ ।
अघिल्लो दुई महिना गरि गोरखा तथा पालुंगटार नगरपालिकाका विभिन्न वडा, धार्चे्, आरुघाट,शहिदलखन, अजिरकोट र सिरानचोक गाँउपालिकाका वडाहरुमा गरि २२ वटा नाटक मञ्चन गरिएको छ ।
स्थानीय समुदायको क्षमता अभिवृद्धि गरि पुनर्निर्मण तथा प्रवलीकरणका विभिन्न सवालमा जनचेतनामूलक सडक नाटक मञ्चन गरिएको परियोजनाले जनाएको छ ।
परियोजनाले गोरखा जिल्लाका गोरखा तथा पालुङटार नगरपालिका एवम् सिरानचोक, गण्डकी,धार्चे, आरुघाट,शहिदलखन र अजिरकोटमा निजी आवास पुनर्निर्माण तर्फ सामाजिक प्राविधिक सहजिकरण गर्दै आएको छ ।