पोखरा- राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कानुन निर्माण गर्दा परम्परागत सोचबाट माथि उठ्नुपर्ने बताएका छन् ।
पोखरामा आयोजित अन्तर–प्रदेश सभा अनुभव आदान–प्रदान तथा अन्तक्रियामा कार्यक्रम बोल्दै उनले संघ, प्रदेश र स्थानीय तहले नयाँ संविधानको मर्मअनुसार अगाडि बढ्नुपर्नेमा जोड दिए
संघीयता नेपालका लागि नयाँ भएकाले अभ्यासमा केही चुनौती भएपनि तीन तहको अन्तर समन्वयबाट अगाडि बढे देशको समृद्धिको लक्ष्य हासिल हुने उनले बताए ।
अध्यक्ष तिमिल्सिनाले तीन तहको अधिकार सूची संविधानले तोकिदिएको बताउँदै अहिले देखिएका समस्या जनप्रतिनिधि तथा कर्मचारीको व्यक्तिगत स्वभाव र मानसिकताका कारण सृजना भएको बताए ।
आफ्नो तहलाई सबल बनाउन र अधिकार बढी प्राप्त गर्न खोज्नु स्वभाविक भएपनि जनप्रतिनिधिले देशको हित र विधि स्थापनाका लागि काम गर्नुपर्नेमा उनकाे जाेड थियाे ।
‘जनप्रतिनिधि भनेको तोकिएको अवधिसम्म सो जिम्बेवारीमा रहने हो । संविधान, कानुन वा विधि भनेको सधैका लागि हो,’ उनले भने, ‘त्यसैले नयाँ संविधानले अंगिकार गरेको परिवर्तनलाई आत्मसाथ गर्दै सरोकारवालासँग छलफल गरेर कानुन निर्माण गर्नुपर्छ ।’
राष्ट्रिय सभा प्रदेश र स्थानीय तहको सरोकार राख्ने सभा भएकाले कानुन बनाउँदा आपासी समन्वय र छलफलमा जोड दिने प्रतिबद्धता अध्यक्ष तिमिल्सिनाले व्यक्त गरे।
उनले संघीय संसदले प्रदेश तथा स्थानीय तहसँग सम्बन्धित विधेयक आगामी अधिवेशनबाट पारित गर्ने जानकारी दिए ।
छलफल कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले तीन तहलाई सक्रिय बनाउन नसकेसम्म संघीयताको कार्यन्यन जटिल हुने बताए ।
उनले देश नयाँ संरचनाको अभ्यासमा भएकाले कानुन निर्माणदेखि सरकार सञ्चालनमा तीन तहबीच आपासी छलफल र समझदारी आवश्यक पर्ने धारणा राखे ।
त्यसैगरी, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले तीन तहबीच कानुन निर्माणमा समन्वय हुन जरुरी रहेको बताए।
उनले संघीयताको कार्यन्वयन प्रदेशलाई बलियो नबनाएसम्म सम्भव नभएको बताउँदै सातै प्रदेश सरकार, संसद र अन्य निकायले सहकार्य, सहअस्तित्व र समन्वय गरी काम गर्नुपर्ने धारणा राखे ।
राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दहालले राष्ट्रिय सभा प्रदेश र स्थानीय प्रतिनिधिको पनि प्रतिनिधिमुलक सभा भएकाले प्रदेश र स्थानीय तहसँग समन्वय गरेर अगाडि बढ्ने बताइन् ।
उनले सात प्रदेशका सभामुख र उपसभामुखले पनि आफ्नो काममा एकरुपता दिन अनुभव आदान–प्रदान जरुरी रहेको बताइन् ।
कार्यक्रममा प्रदेश सभाका सभामुख तथा उपसभामुखले सभा सञ्चालन गर्दाका अभ्यास, अनुभव र चुनौतीबारे आ–आफ्नो धारणा राखेका थिए ।
त्यसैगरी संविधान सभा अध्यक्ष तथा नेकपा संसदीय दलका उपनेता सुवास चन्द्र नेम्वाङले सभा सञ्चालनको अवसर, चुनौती र अनुभव बारे धारणा राखेका थिए ।