काठमाडौं- काठमाडौं महानगरपालिकालाई सडक मानवमुक्त गरिने भएको छ।
महानगरपालिकाले आफ्नो वार्षिकोत्सव ‘२५औं महानगर दिवस’ मनाउने क्रममा आइतबार विशेष कार्यक्रममार्फत महानगरलाई ‘सडक मानवमुक्त महानगर’ घोषणा गर्न लागेको हो।
महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले सडक मानवमुक्त महानगर घोषणा गर्न थालिएको जानकारी दिए।
महानगरलाई सडक मानवमुक्त बनाउन मानव सेवा आश्रम, जिल्ला प्रशासन कार्यालय र महानगर प्रहरीको साथ रहेको शाक्यले बताएकाे खबर आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेकी छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७६/२०७७ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा ‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’ भन्ने अभिव्यक्ति दिएकी थिइन्।
‘गरिबीको मनोविज्ञान हटाई आत्मविश्वास जागृत गरिनेछ,’ नीति तथा कार्यक्रमको सम्बोधनमा राष्ट्रपति भण्डारीले भनेकी थिइन्, ‘मौलिक हकको कार्यान्वयनबाट सबै नागरिकलाई शिक्षा, स्वास्थ्य, खाद्यान्न, रोजगारीको व्यवस्था गरी निरपेक्ष गरिबी अन्त्य गरिनेछ। अब नेपालमा कोही भोकै पर्दैन, भोकले कोही मर्दैन।’
यही भावमा सरकारको बजेटमा पनि सडक मानव व्यवस्थापन गर्न सरकारले आवश्यक पहल गर्ने जिम्मा लिएको उल्लेख गरेको छ। त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले असोज १२ गते भक्तपुरमा मानव सेवा आश्रमको उद्घाटन गर्दै सडक मानवमुक्त गर्न केही दिऊँ पाऊँ भन्नेको कमी नरहेको सुनाएका थिए। सडकमा कोही बेसहारा, असहाय छोडिन नपरोस् र सबैको व्यवस्थापन सरकारले गर्ने घोषणा नै गरेको सम्झाएका थिए।
प्रधानमन्त्री ओलीकोे त्यो उद्घोषको एक महिनाभित्रै भरतपुर महानगरपालिकाले सडक मानवमुक्त पहिलो महानगरको घोषणा कात्तिक ९ गते गर्न सफल बन्यो। त्यसअघि मकवानपुर जिल्ला सडक मानवमुक्त घोषित भएको थियो।
काठमाडौंमा भने चिसो रातमा पातला बोरा र बर्कोले आङ छापेको भरमा एक पहर निदाउन पाउँदा ठूलै भाग्य ठान्नेहरू प्रशस्त भेटिन्छन्। कालीमाटी तरकारी बजार अघिल्तिरको सडकमा सुत्ने करिब ५० जना यसैगरी खुला आकाशमुनि बोराका भरमा रात काट्छन्। ‘तरकारी बजारमा भारी बोक्छु,’ गोपाल थामीले भने, ‘बस्ने ठाउँ छैन, कता जानु, त्यसैले यहीं सुत्छु।’
महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यसँगको कुराकानी पनि छ :
विशेष घोषणाचाहिँ के हुन्छ ?
महानगरलाई सडक मानवमुक्त घोषणा गर्ने कार्यक्रम छ । अभियान भोलिदेखि नै सुरु गर्छौं । अब काठमाडौँ क्षेत्रभित्र कोही पनि चिसोमा कठाङ्ग्रिएर बस्न नपरोस्, कोही एकछाक खान नपाएर सडकमा बस्न नपरोस् भनेर उहाँहरूको उद्धार गर्ने पुण्यको काम आइतबारबाट औपचारिक रूपमै गर्दैछौँ ।
हुन त दुई वर्ष अगाडिदेखि नै मानव सेवा आश्रमसँग सहकार्य गरेर महानगरले काम गर्दै आएको छ। यसलाई अझ महाअभियान चलाएर कोही पनि व्यक्ति अब सडकमा बस्नु नपर्ने गरी हामी व्यवस्थापन गर्न गइरहेका छौँ।
सडकबाट उठाएकालाई कसरी व्यवस्थापन गर्नुहुन्छ?
सडकबाट उठाएकालाई पहिलो चरणमा स्क्रिनिङ सेन्टर भनेर अलग्गै राख्छौँ । जसको कोही पनि छैन, बेसहारा छ भने मानव सेवा आश्रममा राख्न लग्छौँ । जसको घर परिवार छ ।
रहरले वा कसैले रिस पोख्न वा पेसाका रूपमा सडकमा बस्छन् । उनीहरूलाई निरुत्साहित गर्छौं।
जसको कोही पनि छैन, ज्येष्ठ नागरिक आमा बुबा बाध्यात्मक रूपमा सडकमा बस्नुभएको छ। कोही परिवार नभएर मानसिक स्थिति ठीक नभएर बोराले ओढेर सडकमा सुतिरहेका छन्।
उहाँहरूलाई राख्ने, खुवाउने, पिलाउने र औषधि उपचारको काम पनि हामी गर्छौं।