गाेरखा- जिल्लाकाे शहिदलखन गाँउपालिकामा प्रवलीकरण सम्बन्धी तालिम दिने उद्देश्यले ४ दिने डकर्मी अभिमुखिककरण तालिम सुरु भएको छ ।
भारत सरकारद्धारा सहयोग प्राप्त नेपाल आवास पुनर्निर्माण परियोजना गोरखाले शहिदलखन गाँउपालिकामा ४ दिन गरेर स्थानीय डकर्मीलाई प्रवलीकरण सम्बन्धी तालिम दिएको हो ।
वडा नम्बर ५ मास्किछाप स्थित स्थानीय तेज बहादुर थापाको दुई तल्ले ढुङ्गामाटोको घरमा स्थानीय डकर्मीलाई प्रवलीकरण सम्बन्धी तालिम दिइएको शहिदलखन गाँउपालिकाका परियोजना संयोजक रघुनाथ रिमालले बताए।
उनले प्रवलीकरणबारे तालिम प्राप्त प्राविधिकबाट स्थानीय डकर्मीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम प्रदान गरिएको बताए ।
उनले भने ‘घरधनी तेज बहादुर थापाले सामान्य क्षति भएको ढुङ्गामाटोको घर मौलिक पहिचान भएकाले त्यसलाई भत्काउनु भन्दा सुरक्षित बनाउन इच्छुक हुनुहुन्थ्यो । त्यसैले याे तालिमले सहयाेग गर्याे’ ।
नयाँ घर निर्माण गर्नु भन्दा समयको समेत बचत हुने भएकाले समेत प्रवलीकरण गर्न तेजबहादुर सहमत भएका थिए । ’परियोजनका वरिष्ठ सामाजिक परिचालक दशरथ रौनियारले तालिम लिएका डकर्मीलाई प्रवलीकरण सम्बन्धी सामाजिक सशक्तिकरणको पक्ष तथा सुरक्षित जीविकोपार्जनका लागि समेत मद्दत पुग्ने बताए।
यसैबीच, परियोजनाले स्थानीयस्तरमा प्रवलीकरण सम्बन्धी जनचेतना फैलाउने उद्देश्यले गोरखा नगरपालिकामा १, पालुंगटार नगरपालिकामा १,आरुघाटमा १, धार्चे गाँउपालिकाको काँशी गाँउमा १ तथा सिरानचोक गाँउपालिकामा १ घरमा प्रवलीकरण भएको जिल्ला इन्जिनियर समिर भट्टराईले बताए।
आगामी दिनमा समेत परियोजनाले स्थानीय स्तरमा जनचेतना फैलाउने उद्देश्यले करिब २० वटा घरमा प्रवलीकरण गर्ने लक्ष्य लिएको जिल्ला संयोजक राम सापकोटाले बताए ।
सापकोटाले भने ‘मौलिक घरको जर्गेना गर्न प्रवलीकरण सम्बन्धी जनचेतना वडास्तरमा फैलाउन आवश्यक रहेकोले प्रशिक्षण दिएर जनशक्ति उत्पादन गर्ने यस तालिमको उद्देश्य हो ।’