काठमाडौं- अमेरिका र इरानबीच तनाव बढेसँगै इराकमा रहेका नेपालीको अवस्थाबारे चासो बढेकाे छ।
इराकमा नेपालीले दैनिक २० जनाको संख्यामा आप्रवासी कामदारहरुलाई स्वदेश फर्काउन सुरु गरिएको बताएपछि यसबारे थप चासो बढेकाे हाे।
कुवेतस्थित नेपाली दूतावासका अनुसार इराकमा हाल २० देखि २५ हजारसम्म नेपाली कार्यरत छन्।
परराष्ट्र स्रोतकाअनुसार ती नेपाली इराकका विभिन्न कूटनीतिक नियोगहरुमा सहयोगीका रुपमा, विभिन्न होटल, रेस्टुराँ, पसल तथा घरेलु कामदारका रुपमा कार्यरत छन्।
इराकस्थित अमेरिकी बेस क्याम्पमा २ सयभन्दा बढी नेपाली सहयोगीका रुपमा कार्यरत रहेको बताइएको छ। इराकी नागरिकहरुको तुलनामा नेपाली विश्वासिला भएका कारण अमेरिकी बेस क्याम्पमा ठूलो संख्यामा नेपाली श्रमिकहरु कार्यरत छन्।
अमेरिकी आक्रमणमा इरानी उच्च सैन्य कमाण्डर कासिम सुलेमानी मारिएपछि केही दिन यता इरान र अमेरिकाबीच विवाद चर्किएको छ।
विवाद चर्किएसँगै इराकस्थित बेस क्याम्पका उच्च पदस्थ सैनिकहरु पनि अमेरिकाले फर्काउन थालेको बताइएको छ।
परराष्ट्रका एक उच्च अधिकारीले भने, ‘इराकस्थित विभिन्न राष्ट्रका कूटनीतिक नियोग तथा क्याम्पको कार्यस्थललाई ‘ग्रीन जोन’का रुपमा हेरिएको छ।
त्योभन्दा बाहिरको कार्यस्थल जहाँ इराकका नागरिक सरह नेपाली कार्यरत छन्, त्यसलाई ‘रेड जोन’का रुपमा हेरिएको छ। इराकको उत्तर क्षेत्रतर्फ नेपालीले सुरक्षित र खुल्ला वातावरणमा काम गरिरहेको अवस्था पनि छ।’
‘अमेरिकी सैनिकहरु सकेसम्म उद्धार तथा मद्दत गर्ने स्वभावका छन्। अहिले अमेरिकी सैनिकहरु आफैँ उच्च जोखिममा छन्। जसले गर्दा उनीहरुले क्याम्प छोडिरहेको अवस्थामा सहयोगीहरुको आवश्यकता घटेसँगै उनीहरुलाई सुरक्षित स्थानमा सारिएको हुन सक्छ’ ति अधिकारीले भने।
नेपालीलाई स्वदेश फर्काइएको छैन
इराकमा भएका नेपालीलाई उदृत गर्दै विभिन्न सञ्चारमाध्यमले इराकबाट नेपालीलाई स्वदेश फर्काउन सुरु गरिएका समाचारहरु सम्प्रेषण गरे पनि नेपालीलाई इराकबाट नेपाल नफर्काइएको पराराष्ट्र मन्त्रालयले बताएको छ।
‘इराकमा नेपालीलाई हुनसक्ने जोखिमबारे हामी अलर्टमा छौँ। कुवेतस्थित नेपाली दूतावाससँग हामी सम्पर्कमा छौँ,’ परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेल भन्छन्, अहिले दूतावासले नेपालीलाई स्वदेश फिर्ता पठाइएको छैन। बरु रोजगारदाताहरुले सुरक्षित स्थानमा राखेको हुनसक्छ। आक्रमण हुनसक्छ भनेर असुरक्षित महसुस गरेका छौँ।’
नेपाली श्रमिकहरुसँग सम्पर्कमा रहेर उनीहरुको अवस्था बुझ्न दूतावासलाई निर्देशन दिएको परराष्ट्रले जनाएको छ।
इरान अमेरिका विवादपछि इराकस्थित नेपालीहरुमा जोखिम हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै उनीहरुको सुरक्षाका लागि सरकार सक्रिय रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
नेपालीको सुरक्षाका लागि सरकार गम्भीर छ : श्रममन्त्री यादव
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले इराकमा रहेका नेपालीकाे सुरक्षाका लागि सरकार गम्भीर रहेको बताए। ‘श्रम, परराष्ट्र र गृह मन्त्रालयबीच इराकस्थित नेपालीको समस्या सुल्झाउनका लागि छलफल भइरहेको छ। हामी यस विषयमा गम्भीर छलफल गरिरहेका छौँ,’ मन्त्री यादवले भने।
इराक जोखिमपूर्ण मुलुक भएकै कारण नेपाल सरकारले इराकमा राेजगारीका लागि जान नेपालीलाई प्रतिबन्ध लगाएको छ। तर, पनि अवैधानिक बाटो हुँदै नेपालीहरु रोजगारीको खोजीमा प्रतिबन्धित मुलुक इराक पुग्ने गरेका छन्। अहिले पनि निकै ठूलो संख्यामा नेपाली श्रमिक इराकका विभिन्न क्षेत्रमा कार्यरत छन्।
इराकमा रहेका नेपालीको सुरक्षाका लागि सरकार सक्रिय रहेको उल्लेख गरिएको छ। कुवेतस्थित नेपाली दूतावाससँग सम्पर्कमा रही इराकमा रहेका नेपालीको निगरानीका लागि तथा कूटनीति नियोगहरुसँग सम्पर्क भइरहेको परराष्ट्रले जनाएको छ।