काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सक्रियतामा भूकम्प पिडितका लागि गोर्खाको लाप्राकमा ‘एनआरएन नमूना बस्ती’को निर्माणको काम पुरा भएको घोषणा गरिएको छ । संघले सोमवार उक्त जानकारी गराएको हो ।
आफ्नो दायित्वमा रहेको सम्पूर्ण काम सकिएको संघले उल्लेख गरेको छ । संघको ७१ औं बैठकका निर्णय सार्वजनिक गर्दै गैरआवासीय नेपाली संघले निर्माणको काम सकिएको जानकारी गराएको हो ।
गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले संघको जिम्मेवारीमा रहेको लाप्राक परियोजनाको सम्पूर्ण काम सकिएको जानकारी दिए। उनका अनुसार अहिले लाप्राक पूर्ण रुपले हिउँले छोपिएको छ, हिउँ पग्लिएपछि बाँकी रहेको काम सम्पन्न गरी हस्तान्तरण गर्ने योजना छ । संघको ७१ औं बैठक पोखरामा बसेको हो ।
शनिबार र आइतबार चेलेको बैठकले संघको संस्थागत सुदृठिकरण र आगामी कार्ययोजनाबारे बृहत छलफल भएको संघले उल्लेख गरेको छ ।
शौचालय बनाउन ४० लाख संकलन
बैठकमा विभिन्न मुलुकबाट आएका संघका आइसीसी पदाधिकारी, आइसीसी सदस्य, संरक्षक तथा सल्लाहकार गरी ५८ जना सहभागी थिए । संघले काठमाडौमा नमुना सार्वजनिक शौचालय निर्माण गर्न महानगरपालिकासँग सम्झौता गरेको छ ।
सोही प्रयोजनका लागि बैठकमा सहभागी सदस्यबाट मात्र ४० लाख रुपैया सहयोग संकलन भएको संघले उल्लेख गरेको छ । बैठकले छात्रा शौचालयको समस्या भएका विकट तथा ग्रामिण क्षेत्रका विद्यालयसँग सहकार्य गरी शौचालय निर्माणको काम अघि बढाउने निर्णय समेत गरेको छ ।