काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईलाई पार्टीमा निरिह भएर बस्न भन्दा नेकपामा मिल्न आउन आग्रह गरेका छन्।
बुधबार आफ्नै निवास खुमलटारमा समाजवादी पार्टीका केही कार्यकर्तालाई पार्टी प्रवेश गराउने क्रममा दाहालले अप्ठेरो स्थितिमा निरिह भएर बस्नुभन्दा नेकपामा मिल्न आउन डा बाबुराम भट्टराईलगायतलाई आग्रह गरेका हुन्।
समाजवादीका अर्का अध्यक्ष उपेन्द्र यादवलाई समेत धेरै झमेला गर्नुभन्दा आफूहरुसँगै मिल्न आउन आग्रह गरे।
‘आशोक राई, बाबुराम भट्टराई त्यहाँ निरिह भएर बस्न परेको अवस्था छ, अप्ठ्यारो स्थितिमा हुनुहुन्छ भनिएको छ। यो सत्य नै होला। मलाई सबै थाहा त छैन। ती साथीहरु र उपेन्द्रजी पनि अब धेरै झमेला गर्नुभन्दा यही मिल्नै आए बरु राम्रो हुन्छ भनेर उहाँहरुलाई भन्न चाहन्छु,’ प्रचण्डले भने।
उनले देशलाई सबै मिलेर स्थिरता र समृद्धि दिनुपर्ने र जनतालाई विकासको नयाँ युगतिर लैजान अब अलग लग चुलोचौका लगाएर नहुने समेत बताए।
कार्यक्रममा वरिष्ठ नेता माधवकुमार नेपालले देशको स्वतन्त्रता जोगाउन, राष्ट्रिय स्वाभिमानको रक्षा गर्न, सामाजिक आर्थिक र सांस्कृतिक रुपान्तरणको निम्ति समाजवादको दिशामा मुलुकलाई लैजान नेकपाले मात्रै सक्ने बताउँदै पार्टी प्रवेश गर्नेलाई स्वागत गरे।
उनले अन्य पार्टीहरु नामका निम्ती मात्र खडा गरिएका पार्टी मात्र भएको समेत बताए।
अध्यक्ष प्रचण्डले विगत केही महिनायता विभिन्न पार्टीबाट नेकपामा प्रवेश गर्ने कार्यकर्ताहरुलाई धुम्बाराही र पेरिसडाँडामा पार्टी कार्यालय रहे पनि आफ्नै निवासमा कार्यक्रम गरी पार्टी प्रवेश गराउँदै आएका छन्।