काठमाडाैं- राष्ट्रको सम्पत्ति सरकारले शृंखलाबद्ध रूपमा यती समूहलाई हस्तान्तरण गर्न थालेपछि सत्तारुढ दल नेकपाभित्रै आवाज उठेको छ ।
पाथीभराको तीन सय १७ रोपनी सरकारी जग्गा पनि यतीलाई दिएको समाचार प्रकाशित भएपछि पार्टी सचिवालयमा प्रश्न उठेको खबर अाजकाे नयाँपत्रिकामा किरण दाहालले लेखेका छन् ।
‘गोकर्णदेखि पाथीभरासम्मको जग्गा सरकारले एउटै समूहलाई बुझाएको भनेर समाचार आइरहेको छ । यसले पार्टी बदनाम भएको छ, तर सरकारले चिन्ता गरेको छैन,’ मंगलबारको बैठकमा वरिष्ठ नेता माधव नेपालले प्रधानमन्त्री केपी ओलीसँग प्रश्न गरे, ‘देशको सम्पत्ति एउटा घरानालाई जिम्मा लगाउनुपर्ने र तिनकै छोराछोरीलाई राजदूत पनि बनाउनुपर्ने रहस्य के हो ? पार्टी यती समूहको सति जानुपर्ने बाध्यता के छ ?’ स्मरणीय छ, यती समूहका ल्हाक्पा सोनामकी छोरी दावा फुटी शेर्पालाई वर्तमान सरकारले स्पेनको राजदूत बनाएर पठाएको छ ।
नेता नेपालको प्रश्नमा सही थाप्दै अर्का नेता वामदेव गौतमले भने, ‘माधव कमरेडको चिन्ता जायज छ, जनताले विश्वास गरेको पार्टीको लोकप्रियता एउटा व्यापारिक घरानाको स्वार्थका कारण संकटमा परेको छ । यो विषयमा हामीले छलफल गर्नुपर्छ र गल्ती सच्याउनुपर्छ ।’
दुई शीर्षस्थ नेताले आक्रामक रूपमा प्रश्न राखे पनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली मौन रहे । बुधबार सुरु हुने केन्द्रीय कमिटीको बैठकमा पनि राष्ट्रिय सम्पत्तिमा यती समूहको दोहनको विषयमा प्रश्न उठाउने केन्द्रीय सदस्यहरूको तयारी छ ।
यती समूहको स्वार्थसिद्ध गर्न ओली ०५१ मा गृहमन्त्री हुँदा सहयोगी रहेका पुष्प बरुवाललाई अगाडि सारिएको छ । त्यही प्रयोजनका लागि उनलाई पाथीभरा क्षेत्र विकास समितिको अध्यक्ष बनाइएको थियो ।
बरुवाल, यती समूहका ल्हाक्पा सोनाम शेर्पा, नागरिक उड्डयन प्राधिकरणका पूर्वसञ्चालक सदस्यसमेत रहेका ईश्वरी पौडेल र विराटनगरका पूर्वमेयर ध्रुवनारायण श्रेष्ठ सञ्चालक रहेको पाथीभरा देवी दर्शन केबलकार प्रालिलाई राजनीतिक दबाबका आधारमा फुङलिङ नगरपालिकाले निःशुल्क जग्गा दिएको हो ।
महालेखाले दोषीलाई कारबाही गर्न भने पनि सञ्चालक र नगरपालिका नेतृत्वमाथि एक वर्ष बित्दा पनि कुनै छानबिन भएको छैन ।