काठमाडौं- अब हामी पुस्तक आयात गर्न नसक्ने भएका छौं । त्यसैले जोजो आफ्नो मनपर्ने पुस्तकको पर्खाइमा हुनुहुन्छ, उहाँहरुसँग हामी एकदमै माफी माग्न चाहन्छौं । हामीले सक्ने प्रयास गर्यौं तर यो हाम्रो हातमा छैन।’
पोखराको मण्डला पुस्तकले हालै सामाजिक सञ्जाल फेसबुकमा यस्तो बिलौना गर्यो। भारतबाट विदेशी पुस्तक आयत गर्दै आएका नेपाली पुस्तक विक्रेताको साझा समस्या पोखराको मण्डलाले फेसबुकमा पोखेको हो।
विदेशी पुस्तक भारतबाट आयत गर्दा मूल्य सस्तो पर्न जान्छ। त्यसैले विदेशका महँगा पुस्तक पनि यहाँका विक्रेताले सजिलै नेपाल भित्र्याउँथे। अनि सुपथ मूल्यमा नेपाली पाठक सामु पुग्थे।
तर, आर्थिक वर्ष २०७६–७७ को बजेट पेस गर्ने बेला अर्थमन्त्री युवाराज खतिवडाले विदेशबाट छपाई तथा विक्रीका लागि नेपाल भित्रने पुस्तकमा १० प्रतिशत भन्सार शुल्क लगाउने निर्णय गरे।
त्यसपछि पुस्तक विक्रेतामा समस्या आयो। अहिले त डलरमै कर तिर्नुपर्ने भन्दै भन्सारमा पुस्तक नै रोकिदिएको पुस्तक विक्रेताको गुनासो गरेकाे खबर आजको कान्तिपुर दैनिकमा रिना मोक्तानले लेखेकी छन्।
मण्डलाको गुनासो पनि यतिमै सिमित छैन। मण्डला थप लेख्छ, ‘नेपालका पुस्तक विक्रेताले पुस्तकमा भन्सार शुल्क तिर्ने सम्झौता गरेको छ। हामी भारतीय रुपैयाँमा कर तिर्न तयार छौं। तर सरकार डलरमै कर तिरोस् भन्ने चाहन्छ। त्यसैले पुस्तक उपलब्ध गर्न असमर्थ भयौं।’