गाेरखा- बिहान उठ्ने बित्तिकै अजिरकोट गाउपालिका-५, मुच्चोकमा आवाज आयो- ‘झ्याल्ला वोलाङ भच्चेक’ सडकको उद्घाटन एवम् सडकका पूर्व समिति र सरोकारवालाहरुलाई सम्मान गर्ने कार्यक्रम रहेकाले स्थानीयलाई उपस्थिति हुन आग्रह गर्दै माइकिङ्ग भयो ।
भने, अर्को तर्फ गण्डकी प्रदेशका मूख्य मन्त्री पृथ्वीसुब्बा गुरुङ्गको विशेष आतिथ्यतामा कार्यक्रम हुने भन्दै हल्ला पनि चलाइयो । वडा नम्बर ५ का वडा सदस्य राजकुमारी देवकोटाले समेत थाहा पाएर कायक्रममा जाने तयारी गरिन् । तर, कार्यक्रम भने नेपाली कांग्रेस पार्टीको आयोजनामा हुने भएको जनाकारी पाएपछि उनी पछि हटिन् ।
तर मुख्य कार्यक्रम त गोरखा क्षेत्र नम्बर २ ‘ख’ का सांसद प्रकाशचन्द्र दवाडीको आतिथ्यमा हुन लागेको सुनेर वडा सदस्य देवकोटा पार्टीको आन्तरिक कार्यक्रम भएर उपस्थित भइन् । उनी भन्छिन् ‘पूर्व सुचना दिदां सडकको कार्यक्रम भनियो र कार्यक्रममा जाने सुरसार गरे । पछि बुझ्दै जाँदा पार्टीको कार्यक्रम भन्ने थाहा पाएपछि जान उचित लागेन । त्यसैले म पार्टीको कार्यक्रममा नगएको हो ।’
सडकको सम्मान भन्दै पार्टी प्रवेश
तर, घटना नाटकीय पारामा भएछ । नागरिक समाज, झ्याल्ला भच्चेक सडकका उपभोक्ता र केही कांग्रेस सम्बद्ध कार्यकर्ता राष्ट्रिय झण्डा राखेर कार्यक्रम गर्दै गरेको र जो त्यहाँ जान्छन् उसलाई समातेर हात मिलाउन लगाउदै फोटो खिच्दै गरिएछ ।
कार्यक्रममा गण्डकी प्रदेशबाट विनियोजित झ्याल्ला भच्चेक सडकको पचास लाख बजेट कांग्रेसको पहलमा भएको र आफुहरुले उक्त सडक छिटोभन्दा छिटो ग्रावेल गरिदिने भन्दै मन्त्रमुग्द पारेर भाषण सकाईएछ ।
प्रेम कुमार सुनार, पोश प्रसाद अधिकारी, अंकित रम्तेल, रामजी देवकोटा, सुक बहादुर तमाङ, इन्दिरा देवकोटा, रामचन्द्र देवकोटा, जेम्स दवाडी, जिवनाथ दवाडि लगायतका जसलाई नेकपा परित्याग गरी नेपाली काङ्ग्रेस प्रवेश गरेको भनि सांसद दवाडिले आफ्नो सामाजिक सञ्जालमा प्रचार गरे ।
सांसद दवाडीले सामाजीक सञ्जाल फेसबुकमा लेखेका छन् – ‘अजिरकोट गाउँपालिका वडा नम्बर ५ स्थित झ्याल्लाफाट,ओलाङ्ग लगाएत विभिन्न स्थानहरुबाट दर्जनौ जुजारु तथा सक्रिय युवाहरु नेकपा परित्याग गरि नेपाली काङ्ग्रेसमा प्रवेश गर्नुभएको छ । उहाँहरु सम्पुर्णमा हार्दिक स्वागत तथा बधाई व्यक्त गर्न चाहान्छु । जय नेपाल ।’
यूवाहरू भन्छन् – यो कस्तो तरीका हो सांसद ज्यू
सडकको कार्यक्रम भन्दै पार्टी प्रवेश गरिएको कार्यक्रमपछि थाहा पाएपछि प्रेम लामा र अंकित रम्तेलले गोरखा सन्देशलाइ खण्डन गर्न भन्दै टेलिफोन सम्पर्क गरे । गोरखा सन्देशको टेलिफोन सम्पर्कमा उनीहरूले सांसद दवाडी चर्चामा आउन झुटको साहार लिएको भन्दै विरोध जनाए ।
उनीहरूले भने- ‘हामीलाई सडकको सम्मान कार्यक्रम भन्दै पार्टी प्रवेश गराएको कार्यक्रम पछि समाजीक सञ्जालबाट थाहा पायौँ। त्यसैले सांसद दवाडी चर्चामा आउन किन यसरी झुटको साहारा लिए । हामी अचम्ममा परेका छौं ।’ भ्रामक स्टाटस लेखी भेलाको व्यक्तिगत तथा सामुहिक तस्वीर राखेर समाजिक सञ्जालमा पोस्ट गरेपछि अहिले मुच्चोकमा चर्चा चल्न थालेको छ ।
के यहि तरिकाले जनताको मन जित्न सकिन्छ ? पार्टी परित्याग गरिएका भनिएकाहरु सांसद दवाडीमा राजनीतिक सत्यता नभएको र देखावटी मात्रै भएको तथा आफुहरु उनको झुट्टो कुराबाट दुखित भएको र अब कहिल्यै विश्वास नगर्ने बताउँछन् ।
हामी त केबल सडकको काम हुने भन्दै हतारिएर गएका थियौं तर हामीलाई फसाउन खोजीएको रहेछु पार्टी प्रवेश गरिएका भनि सांसद दवाडीले प्रचार गरेपछि ति युवाहरूले गोरखा सन्देशसँग भने- ‘अब कुनै विश्वास उनिप्रति छैन र हामीहरु कुनै अर्को पार्टी प्रवेश गरेका छैनौ ।’