गाेरखा- जिल्लाकाे अजिरकोट गाउँपालिका ५ मुच्चोकको विशेष गरि तल्लोक्षेत्र पनि भौगोलिक विकटता, पूर्वाधार विकास एवम् सामाजिक विकासका दृष्टिकोणले अत्यन्तै गरीब समाज हो ।
यस भूमिले धेरै आर्थिक र शैक्षिकरुपले सप्पन्न सन्तानहरु पनि नजन्माएको त होइन तर पनि सामाजिक विकास र हितको सवालमा पहल गर्नेहरु बिरलै भेटिन्छन् ।
यहाँका प्रायः सबै तप्काहरुमा केबल राज्यको मात्रै मुख ताक्ने र धाक हेर्ने अनि एक अर्काको आलोचना गर्नमा केन्द्रित हुने प्रवृति पाइन्छ ।
वल्लव देवकोटाले व्यवसाय संचालन गर्दा आएको मुनाफा मध्ये केही हिस्सा आम्दानी सामाजिक कार्यमा खर्च गर्ने सोचाइका साथ आफ्नै गाउँको एक बिद्यालयलाइ अार्थिक सहयाेग गरेका छन् ।
उनले जन प्रभात आधारभूत विद्यालय, मुच्चोक साउनेमा रहेकाे साे विद्यालयलाइ अार्थिक सहयाेग गरेका हुन् ।
देवकोटाले विद्यालयलाई २५ हजार रुपैयाँ नगद हस्तान्तरण गरेका छन् ।
विद्यालयले उक्त रकम विद्यालयका नीजी स्रोत शिक्षकलाई तलब भत्ता खुवाउने जनाएको छ ।
यसैगरी देवकोटाले आफ्नो स्वर्गीय आमा चुडिमाया देवकोटाको स्मृतिमा सहयोगलाई निरन्तरता दिने र एक जना नीजी स्रोत शिक्षकको वर्षभरको तलब उपलब्ध गराउने बताएका छन् ।
आफू धेरै समय काठमाडौ रहेको भए पनि गाउँको अत्यन्तै मायाले गर्दा अबका दिनहरूमा यस्ता कार्य गर्ने उनको भनाइ छ ।
ज्ञान ज्योती आधारभूत विद्यालय ओलाङ्गका प्रधानाध्यापक रामचन्द्र देवकोटाले पनि आफ्नी आमाको सम्झ्नामा पाँच जना दलित गरीब तथा जेहन्दार विद्यार्थीलाई ५ हजार प्रति विद्यार्थी वार्षिक छात्रवृत्ति उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।
`यसरी समाजमा सामाजिक सहयोग गर्नेहरूको लहर बढ्दै गए समाज परिवर्तन हुन्थ्यो कि?´ भन्ने गर्छन् स्थानीयहरु ।
वडा अध्यक्ष झल प्रसाद देवकोटाले धन हुने धेरै भए पनि मन हुनेहरूको खडेरी परेको हाम्रो समाजमा यस्ता कदमले अत्यन्तै राम्रो सन्देश जाने बताए ।