गोरखा– नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ (प्रकाश)ले देशै भरी अवैध रुपमा सञ्चालनमा रहेका क्रसर उद्योगहरु तुरुन्त बन्द गरिने बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी गोरखाले राखेको सम्मान कार्यक्रममा गोरखा आएका नेता श्रेष्ठले गोरखाका सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सो कुरा बताएका हुन् ।
श्रेष्ठले भने, ‘गृहमन्त्रीको संयोजकत्वमा यस बारेमा अध्ययन गर्न समिति बनेको र उक्त समितिले दिएको निर्देशन अनुसार हुन्छ । सार्वजनिक जमिन अधिग्रहण गरेर निर्माण गरिएका, सार्वजनिक संस्थालाई हानी गर्ने, सरकारी मापदण्ड पूरा नभएका क्रसरहरु बन्द हुन्छन् ।’
गोरखामा सञ्चालनमा रहेका चारवटा क्रसरहरु सबै मापदण्ड विपरित रहेको जिल्ला प्रशासन कार्यलय गोरखाले जानकारी दिएको छ ।
मापदण्ड विपरित क्रसर सञ्चालन गर्न आफूलाई विभिन्न पार्टीको नेता बताउनेहरुले समेत सहयोग गरेका कारण कारवाही गर्न समस्या परिरहेको प्रशासन बताईरहेका बेला सत्ताधारी दलका नेताले अवैध रुपमा सञ्चालित देशै भरीका क्रसरहरु बन्द गर्ने बताएका हुन् ।
केही दिन अघि गोरखामा बाटोमा हिडिरहेकी एक महिलालाई ट्रिपरले किचेर मारेको थियो ।
यसैवीच ललिता निवास प्रकरणमा आफ्ना नेतालाई दोषी ठहर गरेको भन्दै विपक्षी दल नेपाली काँग्रेसले सदन अवरोध गरेको विषयलाई कसरी लिनुहुन्छ भन्ने प्रश्नमा उनले भने ‘लोकतान्त्रिक पार्टीले के गर्न हुन्छ के गर्न हुँदैन त्यो नेपाली काँग्रेसलाई पनि पक्कै थाहा छ, स्वतन्त्र निकाय अख्तियारले गरेको छानविनलाई सरकार र नेकपालाई जोड्नुको अर्थ छैन, अख्तियार कसैको निर्देशनमा चल्छ भन्ने मलाई लाग्दैन ।’
चर्चाको विषयमा रहेको एमसीसी सदनबाट पास हुन्छ की हुँदैन भन्ने प्रश्नमा उनले भने, ‘नेकपा भित्र उक्त विषयको अध्ययन गर्न समिति बनेको छ, उक्त समितिले जे निर्णय दिन्छ त्यही कार्यान्वयन हुन्छ, समितिले देश र जनताको पक्षमा एउटा निर्णय दिन्छ भन्ने पार्टीको ठहर छ ।’
चित्त नबुझेको कुरामा विरोध गर्नु प्रतिपक्षीको चरित्र भए पनि आफूलाई लोकतान्त्रिक पार्टी भन्ने कांग्रेसले संवैधानिक अंगको विरोधमा आवाज उठाउनु गलत भएको बताएका हुन् ।
‘अख्तियारले के निर्णय गर्छ भन्ने कुरा हाम्रो सरकारले बताउने कुरा होइन । लोकतन्त्रका निम्ति संघर्ष गरेर आएको नेपाली कांग्रेसजस्तो पार्टी र पार्टीका मित्रहरू प्रष्ट हुनुपर्छ । अख्तियार संवैधानिक छुट्टै अंग हो’, श्रेष्ठले भने, ‘सरकारले निर्देशन दिएर अख्तियार चल्ले हैन । त्यसो गर्नु पनि हुन्न ।’
अख्तियार सम्पूर्ण रूपमा स्वतन्त्र रहेको बताउँदै सरकारले सम्पूर्ण संवैधानिक निकायलाई सबै प्रकारका हस्तक्षपबाट बाहिर राख्ने उनले दावी गरे ।
‘हामी अख्तियारले बिनाभेदभाव, बिनापूर्वागहमा यो निष्कर्ष निकालेको होला भन्ने हामीलाई लागेको छ । सरकारले सम्पूर्ण संवैधानिक निकायलाई कुनै प्रकारको हस्तक्षपमा पर्न दिँदैन’ उनले भने, ‘त्यसकारण कांग्रेसले यो कुरालाई बुझेर अख्तियारलाई अझै बढी अनुसन्धानमूलक कसरी बनाउने भन्ने कुरालाई जोड दिँदै यस घटनामा पनि थप केही निष्कर्ष निकाल्नु छ भने निकालोस भन्ने कुरा हामी चाहान्छौँ ।’
‘भ्रष्टाचारी जुनसुकै पार्टीको होस्, त्यसलाई छुट दिनुहुँदैन’, उनले भने, ‘तर, प्रतिपक्ष दलले विभिन्न घटना क्रममा आपत्ति प्रकट गर्ने, संसद अवरुद्ध गर्ने कुरा सधैँ पनि आइरहन्छ । तर, सुविचारीक ढंगबाट कदम चाल्नका निम्ति हामी अनुरोध गर्न चाहान्छौँ ।’