काठमाडाैं- राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौं उपत्यकाभित्र पुनःनिर्माण भइरहेका रानीपोखरी, धरहरा, काष्ठमण्डप, दरबार हाइस्कुल र वसन्तपुर दरबारको अवलोकन गरेकी छन्।
अवलोकनका क्रममा राष्ट्रपति भण्डारीले गोर्खा भूकम्पबाट क्षति भएका ऐतिहासिक सम्पदा निर्माणको प्रगति र त्यसमा प्रयोग भएका सामग्रीबारे जानकारी लिइन्।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञावली र ती निर्माणाधीन आयोजनाका प्रमुखले ऐतिहासिक संरचनाको हालसम्मको प्रगतिबारे राष्ट्रपतिलाई जानकारी गराए।
रानीपोखरीको निर्माणमा ६० प्रतिशत भएको छ भने दरबार हाइस्कुल निर्माण सम्पन्न भई हस्तान्तरणको चरणमा छ।
धरहराको निर्माणको भौतिक प्रगति ३७ प्रतिशत रहेको छ भने काष्ठमण्डप र वसन्तपुर दरबारको उत्साहजनक ढङ्गबाट निर्माण भइरहेको छ।
राष्ट्रपतिबाट भएको अवलोकन भ्रमणका क्रममा काठमाडौं महानगरका प्रमुख र उपप्रमुख, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र शिक्षा मन्त्रालय तथा पूरातत्व विभागका उच्चपदस्थ अधिकृत सहभागी थिए।