गाेरखा- लमजुङमा निर्माण हुने ८.६३ मेगावाटको चेपे खोला साना जलविद्युत आयोजनामा एनएमबी बैंक एक्लैले १ सय १२ करोड रुपैयाँ भन्दा बढी लगानी गर्ने निर्णय गरेको छ ।
बैंकहरू जलविद्युतमा लगानी गर्न हच्किरहेको समयमा एनएमबीले यसमा ७५ प्रतिशत लगानी गर्न लागेको हो ।
लगानी सम्बन्धी सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र आयोजना प्रवर्द्धक आशुतोष इनर्जी कम्पनीका कार्यकारी अध्यक्ष मोहन कार्कीले बिहीबार (फागुन ८ गते) हस्ताक्षर गरेका छन् ।
कूल १ अर्ब ५० करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा एनएमबीले १ अर्ब १२ करोड ५० लाख रुपैयाँ (७५ प्रतिशत) लगानी गर्नेछ । सम्झौताका क्रममा प्रमुख कार्यकारी अधिकृत केसीले तोकिएको समय र लागतभित्र आयोजना पूरा गर्न आग्रह गरे ।
‘समय र लागत नबढीकन निर्माण सकियोस्, यसमा हामीले गर्नुपर्ने हरेक सहयोग गर्न तयार छौं,’ उनले भने, ‘आगामी दिनमा यो समूहसँग सहकार्य गरेर ठूला आयोजनामा लगानी गर्न पाइयोस् ।’
प्रतिमेगावाट लागतका हिसाबले यो आयोजना करिब १७ करोड ३८ लाख रुपैयाँमा पूरा गर्ने लक्ष्य छ । पछिल्लो समय वित्तीय व्यवस्थापन भएका मध्ये यो सम्भवतः सबैभन्दा सस्तो आयोजना हो ।
यसैगरी, व्यवस्थापन समूह सक्षम र सशक्त रहेकाले तोकिएको समयभित्रै आयोजना पूरा हुने कम्पनीका कार्यकारी अध्यक्ष कार्कीले बताए ।
‘जलविद्युतमा केही नराम्रा उदाहरण देखिएकाले प्रवर्द्धकमाथि शंक गर्ने गरिएको छ तर हामी यस्तो हुन दिने छैनौं,’ उनले भने, ‘हामी समय, लागत र गुणस्तरमा सम्झौता नगरी समयअघि नै विद्युत उत्पादन गर्न प्रतिबद्ध छौं ।’
प्रतिमेगावाट लागतका हिसाबले यो आयोजना करिब १७ करोड ३८ लाख रुपैयाँमा पूरा गर्ने लक्ष्य छ । पछिल्लो समय वित्तीय व्यवस्थापन भएका मध्ये यो सम्भवतः सबैभन्दा सस्तो आयोजना हो । अहिले जलविद्युतको प्रतिमेगावाट लागत २० देखि २५ करोड रुपैयाँसम्म पुगिसकेको छ ।
डेढ वर्षभित्र विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको आयोजनाबाट वार्षिक ५१.५७ गिगावाट घन्टा (५ करोड १५ लाख ७० हजार युनिट) विद्युत उत्पादन हुनेछ । उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको १३२ केभी दोर्दी कोरिडोर हुँदै कीर्तिपुर सबस्टेसनमा जोडिनेछ ।
सम्बन्धित समाचार : चेपेखोलामा ८.६३ मेगावाट क्षमताकाे जलबिद्युत आयोजना बन्ने