काठमाडाैं- मन्त्रिपरिषद् बैठकका निर्णय बिहीबार नियमित पत्रकार सम्मेलनमा सञ्चार मन्त्रालयसमेत सम्हालेका अर्थमन्त्री युवराज खतिवडाले सार्वजनिक गरे।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसन मोलमोलाइ गरिरहेको दाबी गरिएको अडिओ टेप सार्वजनिक भएपछि गत बिहीबार सञ्चार मन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजीनामा दिएपछि त्यो दिन मन्त्रिपरिषदका निर्णय सार्वजनिक भएको थिएन।
प्रधानमन्त्री केपी शर्मा ओलीले खतिवडालाई सञ्चार मन्त्रालयसमेत हेर्ने जिम्मेवारी दिएपछि खतिवडाले बिहीबार अपरान्ह ३ बजे नियमित पत्रकार सम्मेलनबाट मन्त्रिपरिषदका निर्णय सुनाएका हुन्।
खतिवडाले मन्त्रिपरिषदले गत फागुन ५ र १२ गते गरेका निर्णय मात्र सुनाएनन्, पत्रकारहरूका प्रश्नको पनि सामना गरे।
उनले पत्रकारहरूका जिज्ञासा एकैपटक लिए र शालिन ढंगले पालैपालो जवाफ दिए। पत्रकारहरूले अर्थ, सञ्चार मन्त्रालयदेखि तुइन हटाउनेसम्मका विभिन्न प्रश्नहरू खतिवडालाई राखेका थिए।
एक जना पत्रकारको प्रश्नले त खतिवडा हाँसे। प्रश्न थियो, ‘नमस्कार अर्थमन्त्रीज्यू तपाईं यो ठाउँमा कसरी आइपुग्नुभयो?’
प्रश्न भुइँमा खस्न नपाउँदै खतिवडा खित्का छाडेर हाँसे र जवाफ दिइहाले- जन्ती आएको हो र सोध्नुभएको? अर्थमन्त्री र सञ्चार मन्त्रीका लागि एकैचोटी प्रश्न सोध्ने मौका पत्रकारलाई मिलेको उल्लेख गर्दै खतिवडाले अपेक्षित प्रश्नहरू नै उठेको बताए।
उनले विकास खर्च अघिल्लो वर्षभन्दा अहिले कम नभएको बताए। उनले पुस्तकमाथि लगाइएको कर फिर्ता नलिइने र यसमा बहस गर्न आफू तयार रहेको पनि जवाफ दिए।
उनले बाँस्कोटा मुछिएको अडिओ टेप प्रकरणबारे पनि धारणा राखे। ‘सबै अनुसन्धान गर्ने निकाय लाग्नुभएको छ। अख्तियारदेखि अदालतसम्म थाहा छ। पक्ष/विपक्षमा बहस गरिराख्दा कानुनी अधिकारप्राप्त निकायले हेरोस्,’ उनले भने।
राष्ट्र बैंकको गभर्नर नियुक्ति छिटै हुने उनले जानकारी दिए। ‘चैत ५ भन्दा अघि गभर्नर नियुक्ति हुन्छ,’ उनले भने। उनले आफूमाथि सोधिएको प्रश्नबारे खुलेरै जवाफ दिए।
पत्रकारहरूले राष्ट्रियसभा सदस्यमा फेरि मनोनित हुन लाग्नुभएको हो? भन्ने प्रश्नमाथि जवाफ दिएका खतिवडाले भने, ‘यो हेर्दै जानुहोस् न अलि बेला भइसकेको छैन। २१ गते सपथ ग्रहणको दिन तोकिएको छ र त्यो दिन तपाईंहरूसँग फेरि भेट हुन्छ। भेट नभए पनि कुराकानी भइनै रहन्छ। त्यसैबेला यसको छलफल गरौंला। यसलाई आज मैले जवाफ दिनुपर्ने आवश्यकता देखिरहेको छैन।’