काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले ग्यासमा अभाव नहुने भन्दै लाइन नबस्न आग्रह गरेका छन् । शुक्रबार पत्रकार सम्मेलनमा उनले बजार हल्लाको कारण मात्रै समस्या देखिएको भन्दै अभाव नभएको स्पष्ट पारे ।
‘बजार हल्ला हुँदा उपभोक्ताले होल्डिङ बढाउन थाले’, मन्त्री भट्टले भने, ‘सञ्चारमाध्यमले पनि यस्तो बेला संयमित समाचार दिन आवश्यक छ ।’ उनले फोन गर्नेवित्तिकै ग्यास पाउने गरी हटलाइन टेलिफोनको व्यवस्था गर्ने बताए ।
उनले भने, ‘नेपालमा अत्यावश्यक कुनै पनि वस्तु अभाव हुँदैन, ती वस्तुहरुको मौज्दात सरकारी संथानहरुमा रहेको छ।’
उनले कुनै पनि वस्तु अभाव नहुने गरी नेपालमा मौज्दात रहेको समेत स्पष्ट पारे। अभाव सिर्जना हुने गरी बिक्रीवितरणमा असहजता पैदा गराउनेलाई कारबाहीको दायरमा ल्याउनेसमेत उनले उद्योग मन्त्रालयमा आयोजित एक कार्यक्रममा शुक्रबार बताए।
मन्त्रालयले नुन ६ महिनासम्मलाई पुग्ने र चिनी झण्डै एक वर्षलाई पुग्ने मौज्दात रहेको जनाएको छ । मन्त्रालयले जनाएअनुसार सरकारका संस्थानहरुमा चाम १० हजार मेट्रिकटन स्टक छ ।
पेट्रोलियम पदार्थ नौ दिनलाई पुग्ने गरी ६८ हजार ३ सय ६४ केएल मौज्दात रहेको मन्त्रालयले जनाएको छ। त्यस्तै, खाना पकाउने एलपी ग्यास समेत सात दिनलाई पुग्ने मौज्दात छ। यो वस्तु आयातमा समेत कुनै समस्या नरहेको मन्त्रालयले दाबी गरेको छ।
पत्रकार सम्मेलनमा मन्त्री भट्टले मास्क र ह्याण्ड सेनिटाइजरमा देखिएको अभाव तथा महंगाई हटाउन त्यस्ता वस्तुलाई केही भन्सार छुट गराउने प्रयास भइरहेको जनाए ।