काठमाडौं- नेपाल आयल निगम बजारको माग भन्दा बढी आपूर्ति गर्ने व्यवस्था गरेको भन्दै ग्याँस अभाव नहुने स्पष्ट पारेको छ। शनिबार एक विज्ञप्ति जारी गर्दै निगमले यस्तो स्पष्टीकरण दिएको हो।
हाल खाना पकाउने ग्याँस उपभोगको औषत परिमाण ३८ हजार मेट्रिक टन रहेको र यसै महिनादेखि निगमले ४५ हजार मेट्रिक टनका दरले आपूर्ति हुने व्यवस्था मिलाईसकेको निगमले बताएको हो।
थप ७ हजार मेट्रिक टन आयात हुने भएकाले बजारमा ग्यास नहुने निगमको भनाइ छ।
‘बजारको माग अनुसार नै पर्याप्त ग्यास आपूर्ति भैरहेकाले ग्यासको अभाव नहुने व्यहोरा निगम सर्वसाधारणमा जानकारी गराउँदछ,’ निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘अनावश्यक ग्याँस सिलिण्डर खरिद गरी राख्ने प्रवृत्तिले गर्दा बजार असामान्य हुने, दुर्घटनाको सम्भावना बढ्ने र आपूर्ति व्यवस्था असहज हुने हुँदा आफ्नो दैनिक आवश्यकता परिपूर्तिका लागि मात्र ग्याँस खरिद गरिदिनु हुन र नयाँ सिलिण्डर खरिद नगर्नसमेत निगम अनुरोध गर्दछ।’