काठमाडौं- भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको भौतिक संरचना निर्माण लगभग सकिएको छ ।
हालको अवधिमा करिब ९० प्रतिशत भौतिक प्रगति रहेको यो विमानस्थल सन्निकट सञ्चालनको अवस्थामा रहे पनि (कोभिड–१९) को विश्वव्यापी प्रकोपका कारण आयोजनालाई असर परेको छ ।
अबको ६ महिनाभित्र विमानस्थल पूर्णरुपमा सञ्चालन गर्ने पूर्वनिर्धारित योजना अझै कम्तीमा ६ महिना लम्बिने आयोजनाका अधिकारी बताउँछन् ।
यही हिसाबले गौतमबुद्ध विमानस्थल अर्को अङ्ग्रेजी वर्ष अर्थात् सन् २०२१ को शुरुआतबाट मात्रै सञ्चालनमा आउने नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका निर्देशक प्रदीप अधिकारीले भौतिक संरचना तयार भइसकेको गौतमबुद्ध विमानस्थल कोरानाको प्रभावले सञ्चालन अवधि केही लम्बिने अवस्थामा रहेको बताए ।
‘भौतिक संरचना निर्माण भइसके पनि विमानस्थलको प्राविधिक काम धेरै बाँकी छ, कतिपय उपकरण आउन सकेका छैनन् त्यसैले आयोजना झण्डै एक वर्ष ढिलो हुने स्थिति रहन्छ, त्यो भनेको अर्को वर्षबाट विमानस्थल व्यावसायिकरुपमा सञ्चालनमा आउनेछ’, उनले भने ।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको यो विमानस्थल रुग्ण अवस्थामा पुगेर चाँडो प्रगति हासिल गरेको आयोजना हो ।
सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्नेगरी सन् २०१५ को शुरुमा उद्घाटन भएको विमानस्थलको काम बीचमा ठेकेदार कम्पनीको लापरवाहीले अवरोध भएको थियो । पछि थपिएको दुई वर्षको अवधिमा आयोजनाको काम उल्लेख्यरुपमा प्रगति भएको थियो ।
निर्देशक अधिकारीका अनुसार अहिले यो विमानस्थलको ९० प्रतिशत काम सकिएको छ । अब मात्रै विमानस्थलको टर्मिनल भवनको फिनिसिङको काम बाँकी छ ।
टर्मिनलभित्र उपकरण जडानको काम बाँकी छ । व्यागेज ह्याण्डलिङ, यात्रु सुरक्षा परीक्षण मेसिन, एसीलगायत उपकरण जडानको प्रक्रियामा छ ।