नयाँ दिल्ली- भारतमा कोरोनाभाइरसको संक्रमणको सबैभन्दा बढी मामिला महाराष्ट्रमा देखिएको छ ।
महाराष्ट्रमा ४२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । केरलमा १९, उत्तरप्रदेशमा १६ र कर्नाटकमा ११ कोरोना संक्रमित पुष्टि भएको छ ।
भारतको बिहार देशकै तेस्रो धेरै जनसंख्या भएको राज्य हो । तर बिहारमा अहिलेसम्म कोरोनाभाइरस संक्रमणको मामिला प्रकाशमा आएको छैन ।
यो अवस्थामा स्वाभाविक रुपमा प्रश्न उठिरहेको छ कि कोरोनाभाइरस बिहारमा साँच्चै देखिएको छैन ? कयौँ मानिस बिहारमा कोरोनाभाइरसको संक्रमणको मामिला नदेखिनुलाई अनौठो मानिरहेका छन् ।
बिहारका प्रख्यात डाक्टर अरुण शाहले एक प्रकारको ज्वरो ‘इएएस संक्रमण’ मा निकै काम गरेका छन् । उनी भन्छन्, ‘कोरोना संक्रमणबारे बिहारमा यो आश्चर्य देखिनुको मुख्य कारण भनेकै यहाँ मानिसहरुले त्यसको उपेक्षा गर्नु हो ।
आम मानिसमा डर छ, तर सिस्टम लाचार र अव्यवस्थित छ । स्कुल, कलेजमात्र बन्द गर्नु, सभा–समारोह रद्द गर्नुमात्र सावधानी होइन, सबैभन्दा मुख्य कुरा यो भाइरसलाई पहिचान गर्नु हो । बिहारमा डाइग्नोसिसको यो प्रक्रिया भएकै छैन ।’
डा. शाह बिहारमा कोरोनाको कुनै संदिग्ध बिरामीको पहिचान र परीक्षण प्रक्रियामै प्रश्न गर्छन् । उनी भन्छन्, ‘सबैभन्दा पहिलो कुरा, कोरोना जाँचका लागि बिहारमा कुनै ल्याब छैन ।
सबै गाउँबाट संकलित नमूनालाई पटनामा एकत्रित गरिन्छ र तिनलाई परीक्षणका लागि कोलकाता पठाइन्छ । यो एउटा लामो प्रक्रिया हो । यस्तोमा हामीले संकलन गरेको नमूनाको गुणस्तर जस्तो हुनुपर्ने हो, त्यस्तै रहन्छ त ? स्वाभाविक रुपमा प्रश्न उठेको छ ।’
बिहार सरकारको स्वास्थ्य विभागले जारी गरेको पछिल्लो तथ्यांकअनुसार अहिलेसम्म परीक्षण गरिएका ७० संदिग्ध बिरामीको नमूना परीक्षणको नतिजा ‘नेगेटिभ’ आएको छ ।
तर पटना मेडिकल कलेज अस्पतालको जुन कटेज वार्डमा संदिग्ध बिरामीहरुलाई राखिएको छ, त्यहाँ पुग्ने बाटो नै फोहोर र दुर्गन्धले भरिएको छ । बाटोमै नालाको पानी बगिरहेको छ भने बिरामी, चिकित्सक र नर्सहरु त्यही दुर्गन्ध र फोहोरको बाटो पार पर्दै वार्डमा पुग्न बाध्य छन् ।
वार्डको माथिल्लो तलामा कोरोनाका संदिग्ध बिरामीलाई राखिएको छ । वार्डको तल केही सुरक्षाकर्मी छन्, जसले बिरामी, चिकित्सक र नर्सबाहेक अरुलाई माथि जान दिदैँनन् ।
एक बिरामी त्यहाँबाट भागेका कारण पछिल्लो समय सुरक्षा व्यवस्था कडाइ गरिएको ड्युटीमा तैनाथ एक सुरक्षाकर्मी बताउँछन् । एजेन्सी