काठमाडौं– अर्थमन्त्री तथा सरकारका प्रवक्ता युवराज खतिवडाले आर्थिक क्षेत्र प्रभावित भइनसकेको दाबी गरेका छन्।
पर्यटनलगायत निर्माणको क्षेत्रमा केही असर परेपनि समग्र अर्थतन्त्रमा नपरेको दाबी गरेका छन्।
‘कोरोना भाइरसले अहिले पर्यटन क्षेत्रमा असर परेको छ, यसैले समग्रमा असर पर्दैन,’ उनले भने‚ ‘पर्यटनले ३ प्रतिशतमात्र कूल गार्हस्थ्य उत्पादन (जिडिपी)मा योगदान गर्ने भएकाले यसलाई समग्रमा बुझ्न मिल्दैन।’
निर्माण क्षेत्रमा केही असर परेको भन्दै उनले विदेशी इन्जिनियर र कन्सलटेन्ट भएको आयोजनामा समस्या भएको बताए। ‘केही चिनियाँ कामदार भएको क्षेत्रमा समस्या देखिएको हो तर अब त्यो हुनेछैन‚’ उनले भने‚ ‘चिनिया फर्कन तयार भएर अनुमति मागिरेहका छन्।’
सरकारले केही स्थानमा नजान र जमघट नगर्न भनेकाले त्यसमा केही असर पर्ने भन्दै उनले जनता आफैं सचेत हुनुपर्ने बताए। ‘सबै मिलेर यो समस्याबाट बच्न सकिन्छ‚’ उनले भने‚ ‘पर्ख र हेरको नीतिमा हामी छौ।’
विश्व स्वास्थ्य संगठनले दक्षिण पूर्वी एसियामा फैलँदै गएको भनेको र नागरिक समाजले परीक्षा सार्न आग्रह गरेकाले एसइईलगायतका परीक्षा सरकारले स्थगित गरेको उनले बताए। शैक्षिक क्यालेन्डर नबिग्रने गरी परिक्षा हुने उनले बताए।