काठमाडौं- कोरोनाभाइरसको त्रासले शेयर बजारसमेत प्रभावित भएको छ ।
सोही कारण नेप्सेमा चरम उतारचढावसमेत देखा परेका छन् । यस साता लगानीकर्तामा पनि एक प्रकारको नकारात्मक अवस्था देखा प-यो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर कूल १७४ कम्पनीका कूल दुई करोड २७ लाख १९ हजार १२२ कित्ता शेयर रु आठ करोड २६ लाख ९५ लाख दुई हजार ७११ बराबरको कारोवार भयो ।
साताको पहिलो दिन नेप्से परिसूचकमा भारी गिरावट देखा प-यो । शेयर कारोवारमा सहजता ल्याउन भन्दै नेपाल धितोपत्र बोर्डको निर्देशनमा नेपाल स्टक एक्सचेञ्जले कारोवार समय थप गरेर ४ बजेसम्म पु-याएको भए पनि बजारमा उत्साह देखिन सकेन ।
त्यस दिन नेप्से परिसूचक ६४.१४ अङ्कले घटेर एक हजार ३१३.०४ मा पुग्यो । कूल १७४ कम्पनीका ५५ लाख ७० हजार ३० कित्ता शेयर रु दुई अर्ब १० करोड १४ लाख १७ हजार २९२ मा खरिद बिक्री भए ।
चार कम्पनीको शेयर सूचीकृत
साताभर बजारमा विभिन्न चार कम्पनीका कूल ६९ लाख २४ हजार ३१२ कित्ता शेयर सूचीकृत भए ।
त्यसमा कृषि विकास बैंकको कूल ५४ लाख नौ हजार ३१७ कित्ता शेयर लाभांश, गणपति माइक्रोफाइनान्सको ७२ हजार ४५० कित्ता शेयर लाभांश, आइसिएफसी फाइनान्सको चार लाख ४३ हजार २९६ कित्ता शेयर लाभांश र आरएमडिसी लघुवित्तको कूल नौ लाख ९९ हजार २४८ कित्ता शेयर लाभांश सूचीकृत भएको छ ।