काठमाडौं- सरकारले लकडाउन गरेपछि प्रायः सबै पसलहरु बन्द अवस्थामा छन्।
तर उपभोक्ताहरुबाट वस्तु अभावको गुनासो आउन थालेपछि अत्यावस्थक वस्तु बिक्री हुने पसल खुलाउन सरकार लागिपरेको जनाएको छ।
तरकारी फलफूल, दूध, पानी, औषधि, ग्यास बिक्री हुने सबै पसलहरु खुलाउने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता प्रकाश दाहालले जानकारी दिए।
यस्ता बिक्री पसलहरु नियमित रुपमा अनिवार्य सञ्चालन गराउने उनको भनाइ छ।
त्यस्तै यस्ता वस्तु ढुवानी गर्ने जुनसुकै मालवाहक साधनलाई समेत नरोक्ने उनको भनाइ छ।
वस्तु ढवानीमा संलग्न व्यक्ति तथा बिक्री गर्ने सबै व्यक्तिहरुले कोरोना भाइरसबाट बच्ने उपायहरु अपनाउनुपर्नेछ। त्यसको समेत अनुगमन हुने उनले बताए।
सरकारी तवरबाट बिक्री हुने वस्तुहरुको बिक्री कक्षलाई समेत सञ्चालन गर्ने मन्त्रालयले जनाएको छ।
साल्ट ट्रेडिङ, खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उपत्यकाको ११ स्थानमा वस्तु बिक्री कक्ष राखेको र सो स्थानबाट बिक्री कार्य दैनिक गरिने प्रवक्ता दाहालले जानकारी दिए।
चेन स्टोरहरु भाटभटेनी, बिगमार्ट, सेल वेज, सेल्सबेरीलगायतका पनि बन्द नगराउन व्यवसायाीहरुसँग छलफल गरिएको छ। उनीहरुलाई होम डेलिभरीको पनि व्यवस्था गर्न भनिएको उनले जानकारी दिए।
त्यस्तै सीमित संख्यामा पेट्रोल पम्पहरु पनि सञ्चालनमा आएको र अन्य जुनसुकै पम्पहरु पनि सञ्चालन गर्न चाहेको खण्डमा जिल्ला प्रशासनको अनुमति लिएर खोल्न सक्ने उनले जानकारी दिए।
उनले भने, ‘लकडाउन आफैँमा असहज परिस्थिति भएको र उपभोक्ताहरुलाई अत्यावश्यक वस्तुको अभाव हुन नदिने गरी सकारले काम गरिरहेको छ। उपभोक्ताले पनि आफ्नो स्वास्थ्यको लागि नै सरकारले यो कदम चालेको भन्ने बुझ्नुपर्छ।’