काठमाडौं- सरकारले उद्योगी/व्यवसायीलाई दैनिक उपभोग्य वस्तु नागरिकका घरघरमै पुर्याउन निर्देशन दिएको छ।
उद्योग वाणिज्य महासंघका पदाधिकारी, काठमाडौंमा सुपरमार्केट, ग्रोसरी तथा विभिन्न होलसेल पसल सञ्चालन गर्नेहरूलाई लकडाउन अवधिभर उपभोक्ताका मागअनुसार घरघरमै खाद्य वस्तु पुर्याउन गृह मन्त्रालयले बिहीबार निर्देशन दिएको हो।
गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयले बिहीबार उद्योगी/व्यवसायी, काठमाडौंमा सुपरमार्केट/ग्रोसरी, खाद्य स्टोर सञ्चालन गर्ने तथा महानगरपालिका कार्यालयका पदाधिकारीलाई बोलाएर छलफल गरेको हो।
लकडाउन अवधिभर उपभोक्तालाई आवश्यकताअनुसार सामान होम डेलिभरी गर्न र स्थानीय प्रशासनसँग समन्वय गरेर पास लिन गृहमन्त्रालयले व्यवसायीलाई आग्रह गरेको छ।
उपभोग्य वस्तुको होम डेलिभरीमा महानगरपालिका, नगरपालिका तथा सम्बन्धित वडा कार्यालयलाई सहजीकरण गर्न गृहमन्त्रालयले निर्देशन दिएको छ।
गृहले लकडाउन अवधिमार कुनै समस्या परे तथा कालोबजारी गरेको थाहा पाए ११४९ नम्बरमा वा सुरक्षाकर्मी र सम्बन्धित सरकारी कार्यालयमा खबर गर्न पनि सर्वसाधारणलाई अपिल गरेको छ।
गृह मन्त्रालयले बिहीबार जारी गरेकाे प्रेस विज्ञप्ति
नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७६/६/९ गतेको निर्णयबमोजिम संक्रामक रोग ऐन-२०२० को दफा २ अनुसार मिति २०७६/१२/११ गते बिहान ६ बजे देखि लागू हुने गरी जारी गरिएको आदेश सबै नागरिकलाई अवगत नै छ।
उक्त आदेशबमोजिम विश्व्यापी रुपमा संक्रमण भइरहेको कोरोना भाइरसबाट आफू सुरक्षित हुन र अरुलाई पनि सुरक्षित बनाउन सबै नागरिकले आफ्ना आफ्नो स्थानबाट नागरिक कर्तव्य पूरा गर्नुहुनेछ भन्ने कुरामा मन्त्रालयले विश्वास लिएको छ।
त्यसका लागि सबै नागरिक अत्यावश्यक काम नपरी आफू पनि घरबाट बाहिर निस्कनु हुने छैन र परिवारका सदस्य, साथीभाइ, आफन्त, इष्टमित्र, छरछिमेकीलगायत चिनेजानेका सबैलाई घरभित्र नै रहन उत्प्रेरित गर्नु हुनेछ भन्ने अपेक्षा राखिएको छ।
यसै सन्दर्भमा नागरिकलाई आवश्यक पर्ने दैनिक उपभोग्य खाद्य वस्तुको आपूर्ति व्यवस्था सहज बनाउन गृहसचिव महेश्वर न्यौपानेज्यूको अध्यक्षतामा आज बिहीबार बसेको बैठकले निम्नानुसार निर्णय गरेको छ-
१. काठमाडौं उपत्यकाभित्र रहेका अत्यावश्यक खाद्यवस्तुका सबै स्टोर एवं बिक्रेताले आआफ्ना डेलिभरी भ्यानमार्फत आवश्यक दैनिक उपभोग्य वस्तुको सहज आपूर्तिको व्यवस्था मिलाउने।
२. आवश्यक पर्ने डेलिभरी भ्यानलाई सवारी पासको व्यवस्था सम्बन्धित जिल्ला प्रशासन कार्यालयले मिलाउने।
३. पसल सञ्चालन, माग संकलन र वितरण गर्ने कार्यमा आवश्यक पर्ने सुरक्षा व्यवस्था महानगरीय प्रहरी कार्यालयले मिलाउने।
४. माग संकलन र वितरण गर्ने कार्यलाई सहज र व्यवस्थित गर्नको लागि सबै स्टोर एवं बिक्रेताले आआफ्ना टोल-फ्री वा अन्य नम्बर उपलब्ध गराई प्रचारप्रसार गर्ने व्यवस्था मिलाउने। फोन, अनलाइन, अफलाइनमार्फत माग संकलन गरी माग भएका आवश्यक दैनिक उपभोग्य वस्तुको (कम्बो प्याकसमेत) बिक्री वितरण गर्ने।
५. दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्थापन सहज गर्न/गराउन सबै वडा कार्यालयबाट आवश्यक सहजीकरण गर्ने गराउने व्यवस्था काठमाडौं महानगरपालिका र सम्बन्धित उपमहानगरपालिका/नगरपालिकाले मिलाउने।
६. काठमाडौं उपत्यकाबाहिर रहेका अत्यावश्यक वस्तुका स्टोर एवं बिक्रेताले पनि उपरोक्तानुसारको व्यवस्था मिलाई आपूर्ति व्यवस्थापन सहज बनाउने र यस कार्यमा सम्बन्धित जिल्ला प्रशासन कार्यालय र स्थानीय तहले सहयोग गर्ने।
यस जटिल घडीमा कुनै समस्या परेमा त्यसको समाधानका लागि तथा कालोबजारी, कृत्रिम अभाव सिर्जना गर्ने, जम्माखोरीजस्ता कार्य गरी बजारमा आवश्यक उपभोग्य खाद्यवस्तुको अभाव देखिएमा यस मन्त्रालयको कुनै पनि शुल्क नलाग्ने र २४सै घण्टा उठ्ने टोल-फ्री नम्बर ११४९ मा फोन गरी सहयोग गरिदिनु हुन अनुरोध छ।